हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार सम्पन्न तेस्रो अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ३ ले जितेको छ । ३ र ७ नम्बर वडाबीचको फाइनल खेल निर्धारित समय १–१ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतीजा निकालिएको थियो । निर्धारित समयको ६३ औं मिनेटमा आत्मघाती गोलले ७ नम्बर वडा खेलमा पछि परेको थियो ।
खेलमा पछि परेको स्थितिमा खेलको दोस्रो हाफको इन्जुरी समयमा रविन खड्काले गोल गर्दै ७ नम्बर वडालाई बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टीमा ५–३ गोलअन्तरले ३ नम्बर वडाले उपाधि जितेको हो । उपाधिसँगै ३ नम्बर वडाले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ७ नम्बर वडाले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उदीयमान खेलाडी वडा नम्बर ४ का विशाल प्रजा, उत्कृष्ट खेलाडी वडा नम्बर ३ का सुनिल रुम्बा, उत्कृष्ट फरवार्ड ३ नम्बर वडाका सञ्जीव बल, उत्कृष्ट मिडफिल्डर र डिफेन्डर वडा नम्बर ७ का रविन खड्का र सुदीप सापकोटा घोषित भए भने उत्कृष्ट गोलकिपर वडा नम्बर ३ का आशिष मोक्तान भए । मनहरी गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीको अध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो ।