हेटौंडाः शिक्षामा स्थानीय सरकारको प्राथमिकता विषयक छलफल मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार भएको छ । ‘अनिवार्य, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’, भन्ने नाराका साथ आयोजित कार्यक्रममा मनहरी गाउँपालिकाका ३० विद्यालयका प्रधानाध्यापक, शिक्षा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रम मनहरी गाउँपालिकासँगको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) जिल्ला सञ्जाल मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा शिक्षकहरुले कोरोना भाईरस (कोभिड–१९) पछाडी विद्यालयमा स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध नहुँदा पठनपाठनमा असर परेको भन्दै त्यसतर्फ ध्यान दिन मनहरी गाउँपालिकालाई आग्रह गरेका थिए । स्थानीय सरकारले शिक्षामा भन्दा भौतिक विकास/निर्माणमा बढी ध्यान दिएकोमा गुनासो गर्दै सहभागीहरुले मकवानपुरका १० स्थानीय तहमध्ये मनहरी गाउँपालिकामा विद्यार्थीको अनुपातमा शिक्षक कम रहेको लगायतको समस्या बताएका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, श्रोतशिक्षक पूर्णभद्र भुषाल, शिक्षा प्राविधिक सहायक सञ्जय गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) मकवानपुरका संयोजक बुद्ध लामाले सहजीकरण गर्नुभएको थियो । एनसीई नेपालको देशव्यापी अभियान अन्तर्गत सार्वजनिक शिक्षामा सुदृढीकरणका लागि स्थानीय तहहरुलाई सुझाव पेश गर्न आधारपत्र तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइएको छ ।