हेटौंडाः हेटौंडा–११ स्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
साधारणसभाको अवसरमा सहकारीका सेयर सदस्यका परिवारबाट एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रा तथा सहकारीका उत्कृष्ट बचतकर्ता, ऋणीलाई सम्मान समेत गरिएको थियो । सहकारीको ११ सय सेयर सदस्यहरु रहेकोमा सेयर पुँजी ८८ लाख रुपैयाँ, बचत ६ करोड २२ लाख रुपैयाँ र ऋण लगानी ६ करोड ६ लाख रुपैयाँ रहेको सहकारीका व्यवस्थापक गोकुल श्रेष्ठले जानकारी दिनुभएको छ ।
साधारणसभामा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।