हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरको विकट कैलाश गाउँपालिकाको दुई सामुदायिक विद्यालयको स्थगलगत अवलोकन गर्नुभएको छ ।
आज नामटार–८, स्थित श्रीरत्नज्योति आधारभूत विद्यालय र कालिका माध्यमिक विद्यालयको उहाँले स्थलगत अवलोकन गर्नुभएको हो । सभामुख श्रेष्ठले भूकम्पपश्चात विद्यालयको संरचना, विद्यार्थीको अवस्था लगायत विद्यालयको समस्या बारे जानकारी लिनुभएको छ । उहाँले सामुदायिक विद्यालयको शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विद्यालयका प्रधानाध्यापकसँग पनि छलफल गर्नुभएको छ ।
विशेष गरेर विद्यालयमा कोरोना भाइरसको जोखिमले पारेको असरबारे सभामुख श्रेष्ठले चासो राख्नुभएको थियो । उहाँले कोरोनापछि खुलेका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको पनि अनुगमन गर्नुभएको थियो ।
प्रदेशको राजधानी समेत रहेको मकवानपुरको विकटका सामुुदायिक विद्यालयहरुको अवलोकन गर्न सभामुख श्रेष्ठसँगै बागमती प्रदेश सभाका सदस्य ओम ग्लान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायत नेकपा मकवानपुरका नेता एकलाल श्रेष्ठ पुग्नुभएको थियो ।