हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले १५ औं वार्षिक साधारणसभाको अवसरमा सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरेको छ । मंसिर २१ गतेबाट सुरु भएको साधारणसभाको सोमबार समापन समारोहमा संघले सम्मान गरेको हो । संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी वैद्यको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो ।
संघले साधारणसभामा उत्कृष्ट महिला सहकारीमा सक्रिय महिला सहकारी, मिश्रित सहकारीमा जनकल्याण सहकारी, उत्कृष्ट दैनिक कारोबार गर्ने सहकारीमा हाम्रो गोर्खा सहकारी सम्मानित भएको छ । समग्रतर्फ सर्वाधिक बचत जम्मा गर्नेमा सञ्जीवनी सहकारी, ऋण परिचालन गर्नेमा बज्रबाराही सहकारी र बढी शेयर खरिद गर्नेमा महिला सेवा सहकारीलाई सम्मान गरिएको छ । महिला सहकारीतर्फ सर्वाधिक बचत जम्मा गर्नेमा महिला जनचेतना सहकारी, ऋण परिचालन गर्नेमा महिला अभियान सहकारी र बढी शेयर खरिद गर्नेमा महिला मिलन सहकारीलाई सम्मान गरिएको छ । गाउँपालिकातर्फ सर्वाधिक बचत गर्नेमा महिला जागृति सहकारी, ऋण परिचालन गर्नेमा दिव्यज्योति महिला सहकारी र बढी शेयर खरिद गर्नेमा महिला जागरण सहकारीलाई संघले पुरस्कृत गरिएको छ । सहकारी अभियानकर्मीमा महिलातर्फ मञ्जु थिङ र पुरुषतर्फ ईन्द्र बहादुर बस्नेत, उत्कृष्ट कर्मचारीमा महिलातर्फ महिला आवाज सहकारीका व्यवस्थापक बाटु कुमारी योञ्जन र पुरुषतर्फ हेटौंडा–४ मा रहेको सुरक्षित सहकारीका व्यवस्थापक दुर्गाप्रसाद घिमिरेलाई सम्मान गरिएको छ ।
साधारणसभामा एकीकरण गर्ने सहकारीलाई पनि सम्मान गरिएको छ । श्रमिक र मखमली सहकारी एकीकरण भएर बनेको श्रमिक सहकारी, उपयोगी र सहस्राब्दी एकीकरण भएर बनेको उपयोगी सहस्राब्दी सहकारी तथा सर्वोत्तम र सञ्चिती एकीकरण भएर बनेको सर्वोत्तम सञ्चिती सहकारीलाई सम्मान गरिएको छ । साधारणसभामा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्साल, मकवानपुर जिल्ला सहकारी संघकी उपाध्यक्ष मेनका दाहाल, बचत संघकी संस्थापक अध्यक्ष सुलोचना स्याङ्तानको पनि उपस्थिति रहेको थियो । एक सय ४० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था सदस्य रहेको संघमा तीन करोड रुपैयाँ सेयर पुँजी रहेको छ । ५१ करोड ४३ लाख ९३ हजार रुपैयाँ बचत संकलन गरेको संघले १४ करोड ३१ लाख १० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।