साङ्केतिक तस्बिर goole.com

हेटौंडाः वि.सं. २०८५ सालसम्म बागमती प्रदेशको मुख्य सहरहरुमा विद्युतीय सवारीमात्र चल्ने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभएको छ । मन्त्री फुयाँलले आगामी २०८५ सालसम्म प्रदेशका मुख्य शहरहरुमा चल्ने पेट्रोलियम सवारी विस्थापित गरी विद्युतीय सवारी सञ्चालन गर्ने प्रदेश सरकारको महत्वाकांक्षी योजना रहेको बताउनुभएको हो ।

बामगती प्रदेशको राजधानी हेटौंडामा सोमबार यातायात सञ्चालन तथा व्यबस्थापन बोर्डको कार्यालय शुभारम्भ गर्नुहुँदै मन्त्री फुयाँलले बागमती प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा नै १० वर्षभित्र प्रदेशका मुख्य सहरमा पेट्रोलियम सवारी विस्थापन गर्ने घोषणा गरेअनुसार प्रदेश सरकार अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको गठन आदेश २०७७ अनुसार प्रदेशमा ७ वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिएको बताउनुभयो । बोर्डको कार्यालय शुभारम्भ भएसँगै बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदको कामलाई पनि सँगै अगाडि लैजाने मन्त्री फुयाँलले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले प्रदेश सरकारको महत्वपूर्ण कार्यालयको रुपमा बोर्डलाई हेरिएको बताउनुभयो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अहिले २५ वटा केन्द्रमार्फत् प्रदेशमा ५० वटा पक्की पुल निर्माण गरिरहेको बताउनुभयो । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न ७ वटा रुटमा ३८ वटा विद्युतीय बस सञ्चालन गर्न ७५ करोड बजेट छुट्याएको जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीव बरालले यातायात क्षेत्र सरकार मातहत हुनुपर्ने भन्दै विद्युतीय बस सेवा सुरु गर्नुअघि विद्युतीय सवारी सञ्चालनको मोडालिटी तयार गर्ने बताउनुभयो । उहाँले मन्त्रालयले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालयका लागि कार्यकारी निर्देशक र उपनिर्देशक २ जनाको विज्ञापन खुला गरेको बताउनुभयो । हालका लागि कार्यालयमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी मन्त्रालयले सहदेव भण्डारीलाई दिएको छ ।