हेटौंडाः कृषि सामग्री कम्पनी लिमिटेडले मकवानपुर जिल्लामा तत्काल मल वितरण गर्ने जनाएको छ । धानमा मल हाल्ने मुख्य समयमा मल उपलब्ध गराउन नसकेको कम्पनीले हाल जिल्लामा पर्याप्त मल आएका कारण वितरण गर्ने तयारी गरेको कृषि सामग्री कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयका प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो । हाल कम्पनीसँग मकवानपुरमा ७२ मेट्रिक टन युरिया मल, ५२ मेट्रिक टन डीएपी मल र ४२ मेट्रिक टन पोटास मल रहेको यादवले जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयका प्रमुख यादवले मकवानपुरलगायत प्रदेशका ७ वटा कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा हाल १ सय ८७ मेट्रिक टन युरिया, ३ सय ४९ मेट्रिक टन डीएपी र ३ सय ८६ मेट्रिक टन पोटास मल स्टक रहेको बताउनुभयो । कम्पनीको बागमती प्रादेशिक कार्यालय हेटौंडाले काठमाडौं, धुलिखेल, त्रिशूली, भरतपुर, गजुरी र सिन्धुलीमा रहेका कार्यालयहरुको दैनिक बिक्री तथा मौज्दातको अभिलेख राख्दै आएको छ ।
चालु आर्थिक वर्षमा केन्द्र सरकारले अनुदानको मल बिक्री वितरणका लागि ‘अनुदानको मल व्यवस्थापन निर्देशिका २०७७’ कार्यान्वयनमा ल्याएको छ । जसमा स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा मल वितरणसम्बन्धी समिति रहनेछ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखाका प्रमुख सदस्यसचिव रहने उक्त समितिले स्थानीय तहमा अनुदानको मल बिक्री वितरण गर्ने सहकारीको सूचीकृत र अनुगमन गर्ने काम गर्नेछ । मकवानपुरमा हालसम्म मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका र थाहा नगरपालिकाले मात्रै स्थानीय तहले सूचीकृत गरेको सहकारीको आवेदन कृषि सामग्री कम्पनी लिमिटेडमा प्राप्त भएको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँले हालसम्म मकवानपुरगढीका ६ वटा, हेटौंडाका ६ वटा, थाहा नगरका ३ वटा र बकैया गाउँपालिकाको एउटा सहकारीले अनुदानको मल बिक्री गर्न आवेदन दिएको जानकारी दिनुभयो ।
सूचीकृत भएर निवेदन दिएका सहकारीलाई आवश्यकताको आधारमा मल वितरण गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
मकवानपुरका सबै स्थानीय तहमा अहिले मल हाल्ने समय कटिसकेकाले पनि त्यति ध्यान नगएको हुनसक्ने उहाँले बताउनुभयो । मल हाल्ने सिजनमा युरिया मलको अभाव हुँदै आएको करिब ४ दशक भएको छ । किसानलाई मल सहजै वितरण गर्ने भनेर सत्तामा पुगेकाहरुले पनि यसको समाधान गर्न अझै सकेका छैनन् । यता हरेक वर्ष मल हाल्ने समयमा मलको अभाव सिर्जना गराउने गरेको र सिजन नभएको समयमा मलको उपलब्ध गराउँदै राजनीतिक चलखेल हुनेगरेको कृषक नारायण लामिछानेले बताउनुभयो । वर्षौदेखि मल किन्न लाइन बस्नुपरेको सुनाउनुहुँदै उहाँले भन्नुभयो, ‘सरकारले किसानलाई सधैं अप्ठेरोमा मात्रै पार्ने गरेको छ । मल सहज उपलब्ध हुने खोक्रो आश्वासनमात्र बाँड्ने गरेको छ ।’