हेटौंडाः नेपाली कांग्रेसले सोमबार देशभर सडकबाट सरकारको विरोध प्रदर्शन गर्ने भएको छ । कार्यक्रममा हेटौंडामा सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा आउनुहुने भएको छ । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आइतबार भएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभा सदस्य एवम् प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले विरोध प्रदर्शनको तयारी पूरा भएको बताउनुभयो ।

त्यस्तै बानियाँले देशैभरी सर्वसत्तावादको विरुद्ध नेपाली कांग्रेसले गर्न लागेको जनप्रदर्शन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै निर्वाचन गर्नेदेखि संविधान जारी गर्नेसम्म आफ्नो काँधमा राख्दै जिम्मेवारी पूरा गर्दै आएको तर अहिले बहुमतको सरकार रहेको नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आशा र भरोसा टुट्दै गएको, जनतामा अहिले गणतन्त्रप्रति निराशा रहेको अवस्था र महंगी, भ्रष्टाचार, बलात्कार जस्ता बेथितीहरु बढ्दै गएकोले विरोध प्रदर्शन गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यसैगरी तनहुँको व्यास नगरपालिकामा मंसिर १७ गते पूर्वनिर्धारित कार्यक्रम अनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाका नेता, कार्यकर्ताले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेको विरोधमा पनि कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको पनि ईन्द्र बहादुर बानियाँले बताउनुभयो ।