भीमप्रसाद तिमल्सिना

सातामा दुई दिन सार्वजनिक विदा दिँदा त्यसको सकारात्मक प्रभाव पर्दछ भन्ने विभिन्न आधारहरु देखाई अध्ययन समितिबाट सरकारमा पेश भएको प्रतिवेदनमा आएका विश्लेषण, सुझाव र साँच्चिकै यदि सुझाव अनुसार बिदाको निर्णय गर्ने हो भने त्यसले पार्न सक्ने प्रभाव र दुई दिन बिदाको औचित्यका विषयमा मनमा उब्जिएका केही तथ्यहरु माथि प्रकाश पार्न यो आलेख तयार पारिएको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोभिड–१९ (कोराना भाइरस) को कारणबाट सृजित असर अझ त्यसमा विशेषगरी मुलुकका होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव र करिब कोमामा पुगेको यस क्षेत्रलाई पुनर्जीवन दिनका लागि पनि होला सायद यस प्रस्ताव सम्बन्धित मन्त्रालयको अग्रसरतामा तयार गरिएको । स्वभाविक रुपमा विपद्का कारण सृजित प्रतिकूल अवस्थालाई पार गर्दै पूर्ववत् अवस्थामा आइपुग्न विशेष प्रयास तथा योजना त हुनु नै पर्छ तर त्यो प्रयास तथा योजनाले दीर्घकालीन प्रभाव मुलुकमा कस्तो पार्दछ भन्ने समाजशास्त्रीय दृष्टिबाट पनि हेरिनुपर्दछ । यस आलेख तयार पार्दासम्म यस विषयमा समितिबाट पेश भएको प्रतिवेदनको पूर्णपाठ अध्ययन नै नगरी केवल सञ्चार माध्यममा समाचारमा आएका मुख्य विषयले ध्यान आकृष्ट गरेकोले लेख्ने प्रयास गरिएको छ । यस कारणले प्रतिवेदनमा उठाइएका सबै पक्षहरुमाथि यस लेखमा विश्लेषण नहुन सक्छ, त्यो सीमालाई बुझिदिन अनुरोध छ । मुलतः कुनैपनि कारणले हप्तामा दुइदिन सार्वजनिक विदा नेपालको सन्दर्भमा अहिले उपयुक्त हुन्न भन्ने पक्षमा विश्लेषण केन्द्रित छ ।

मुलुकले संघीय संरचनाको अभ्यास भर्खर शुरु गरेको छ । आम जनतामा सुशासन र तिव्र परिवर्तनको अपेक्षा ज्यादै बढेको छ । अपेक्षाकृत रुपमा सरकारले विकास र परिवर्तन प्रतिको यात्रा सही गतिमा बढाउन नसकेको र सुशासन दिन नसकेकोमा आम जनतामा ज्यादा निराशा छ । सुखी नेपाली र समृद्ध नेपालको यात्रामा हामी छौं । यस्तो परिवेशमा दिन दुगुना रात चौगुनाका हिसाबले दिनरात नभनी मुलुकका संयन्त्र परिचालित हुनुपर्ने अवस्थामा हप्तामा दुई दिन सार्वजनिक विदा दिँदा प्रभाव पक्कै राम्रो पर्दैन । एकपछि अर्को गर्दै सरकारलाई असफल पार्न भैरहेका विभिन्न प्रयासको निरन्तरताको रुपमा जसरी एकांकी रुपबाट दुइदिने सार्वजनिक बिदाको राम्रा प्रभाव देखाएको देख्दा जो कोहीले पनि कतै होटल व्यवसायी र पर्यटन क्षेत्रको उक्साहट र प्रभावमा आएको प्रतिवेदन त होइन भनी सहजै बुझ्न सक्ने अवस्था छ । यस्ता प्रभावबाट बहिकिँदै जाने हो भने मुलुकको समृद्धिको यात्रा तुहिन्छ ।

विश्वका अधिकांश मुलुकमा दुइदिन सार्वजनिक विदाको प्रचलन रहेको भनिएको छ । यो यथार्य पनि हो । तर उनीहरुको समृद्धिको अवस्था र हाम्रो मुलुकको अवस्थामा कति अन्तराल छ भन्ने कुरा हेरिनुपर्दछ । उनीहरुले दुइदिन बिदा गरेर आज विकसित अवस्थामा पुगेका पक्कै होइनन् । हिजो मरेर दिनरात नभनी काम गरेर विकसित समुन्नत् अवस्थामा पुगेका हुन् । दक्षिण कोरिया, जापान, चीनका सरकार र नागरिकले हिजोका दिनमा त्यसरी दिनरात नभनी मिहिनेत नगरेको भए आज यो अवस्थामा पक्कै पुग्ने थिएनन् । हिजोकै मिहिनेतका कारण त्यहाँका नागरिकको जीवनस्तर माथि आएको छ । औषत आम्दानीको अंक माथिल्लो स्थानमा छ । स्वभाविक रुपमा जीवनस्तर बढ्दै गएपछि हिजोकै गतिमा आफैं काम गर्ने होइन अब काम लगाएर खाने हैसियतमा पुगेका छन् उनीहरु । तर विश्वकै गरिब नागरिकमा पर्ने हामी नेपाली दिनरात नभनी काम गर्दा पनि बाँच्न कठिन परिस्थितिको सामना गरिरहेका छौं । त्यसकारण अवस्था असमान भएकाको बीचमा एउटै अभ्यास उत्तिकै औचित्यपूर्ण र प्रभावकारी हुन्न नै ।

प्रतिवेदनमा दुई दिन बिदा गर्दा प्रशासनिक खर्च कम हुन्छ भनिएको रहेछ । कस्तो हाँस्यास्पद तर्क हो यो । चिया खर्च, सवारी साधनको कम प्रयोगलाई भन्न खोजिएको होला । दुइदिन सार्वजनिक बिदाले त प्रशासनिक क्षेत्र र सुशासनको अवस्था त झन कहालीलाग्दो हुने देखिन्छ । अधिकांश कार्यालय प्रमुख र माथिल्ला तहका कर्मचारीको घर काठमाडौं कि मुख्य शहरी क्षेत्रमा छ । एकदिन बिदा हुँदा त शुक्रबार बेलैमा घर हिँड्ने अनि आइतबार फुर्सदमा कार्यालय आउने अभ्यास छ भने हप्तामा दुई दिन बिदा हुँदा त बिहीबार आधा दिनमै हिँड्ने अनि सोमबार फुर्सदमा कार्यालय आउँदा हप्तामा चार दिन प्रभावित हुन जान्छ । कार्यालय प्रमुखको अनुपस्थिति हुँदा जनताको काम रोकिने अनि मुली नै नहुँदा अरु कर्मचारी पनि नियन्त्रण र अनुशासन भन्दा बाहिर गई कार्यालय सञ्चालन र सेवाप्रवाह अस्तव्यस्त हुन सक्छ ।

कामचोर मानसिकता रहेसम्म इमान्दार र अनुशासित मुलुकमा भएको अभ्यास जस्ताको तस्तै उपयोगी हुन्न । दुइदिन बिदा हुने भएपछि हप्ता हप्तामा घर जाने आउने चाहना स्वभाविक रुपमा बढ्छ । यसले गर्दा सवारी साधनको खर्च अझ बढ्छ । मन्त्रालय, विभागतिरको निहुँ देखाउँदा नि भयो केही नहुँदा अनुगमन भने भैगो । कार्यालय प्रमुख तथा माथिल्लो ओहोदामा पुगेकाले पक्कै सार्वजनिक यातायात प्रयोग गर्ने कुरै भएन, हैसियतको कुरा आउँछ । अर्कोतर्फ जनतासँग जोडिएर सेवा प्रवाह गर्ने कृषि, पशु, स्वास्थ्य क्षेत्रमा काम गर्ने सेवा केन्द्रहरु बन्द हुँदा बिदाको कारण आकस्मिक सेवा अवरुद्ध हुन जान्छ । सेवा नरोकिनेगरी प्रबन्ध गर्न कर्मचारीलाई बिदाको दिन काममा लगाउँदा अतिरिक्त सुविधा दिनुपर्ने हुन्छ । त्यसैगरी निर्माण कार्यमा खटिएका प्राविधिकहरुलाई परिचालन गर्दा अतिरिक्त व्ययभार थपिन्छ । सेवाप्रवाहलाई कम नगर्ने गरी व्यवस्थापन गर्ने हो भने पक्कै प्रशासनिक खर्च ज्यादा बढ्न जाने सुनिश्चित छ ।

प्रतिवेदनले दुइदिन बिदाले आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दछ भन्ने आधार देखाइएको छ । पक्कै पनि फुर्सद हुँदा घर–परिवारका सदस्यहरु मिलेर घुम्न जाने क्रम बढ्ला नै तर वर्तमान समयमा कर्मचारीहरु कुन हालतमा बाँचिरहेका छन् त्यो बुझ्न जरुरी छ । कोठाभाडा तिर्न, केटाकेटी पढाउन, नियमित घर खर्च धान्न कति कठिनाइको सामना गरिरहेका छन् । यस्तो अवस्थामा घुमेर रमाइलो गरी खर्च गर्नसक्ने अवस्थामा कर्मचारी वर्ग खासै छैनन् । केही थोरै प्रतिशत कर्मचारी जो अन्य अतिरिक्त आय गर्न सक्दछन् र अनियमित तरिकाले आर्जन गर्दछन् उनीहरुका लागि यो दुइदिने विदा रमाइलै पनि होला । तर जो मुस्किलले बाँचेका छन् उनीहरुका लागि बोझ हुन्छ बिदा । सँगैका साथीभाई घुमफिर गरिरहँदा आफू वर्षमा पनि एकदिन परिवार घुमाउन नसक्ने कर्मचारीमा ग्लानी, पीडा र पारिवारिक दबावका कारण हिनताबोध विकास हुनसक्छ । केटाकेटी तथा परिवारबाट घुमाउन लैजान दवाव आउँदा खर्चकै कारण व्यवस्थापन गर्न नसक्दा मानसिक दवावमा कर्मचारी पर्न सक्छ ।

अहिलेको तलबभत्तामा चारगुणा बृद्धि हुँदा प्रतिवेदनले कल्पना गरेको घुमफिर र त्यसबाट कर्मचारीमा रिफ्रेसमेन्ट मिल्ने अवस्था होला, अन्यथा हप्ताको दुइदिन बिदा बिताउन अधिकांश कर्मचारीले तास र रक्सीको सहारा लिन सक्नेछन् । जसबाट पारिवारिक कलह र विवाद बढाउन सक्ने अवस्था आउँछ । खर्च गर्नसक्ने र नसक्ने कर्मचारीका बीचमा वर्गीय विभाजन देखा पर्दछ । पारिवारिक चाहना पूरा गर्न, दबाव व्यवस्थापन गर्न श्रोत जुटाउने क्रममा कर्मचारी अनियमित आम्दानी तथा भ्रष्टाचारतर्फ उद्दत हुने अवस्था विकास हुनसक्छ । त्यसैगरी पछिल्लो समयमा फुर्सद हुँदा पनि पारिवारका सदस्यहरुसँगै बसेर कुराकानी गर्ने रमाइलो गर्ने भन्दा पनि सूचना प्रविधिको प्रयोग गरी एक्लै रमाउने प्रवृत्ति बढ्दै गएको र सामाजिक सञ्जालको गलत प्रयोगका कारण श्रीमान् श्रीमतिका बीचमा मनमुटाव तथा विवाद बढाइरहेको कतिपय दृष्टान्त देखिएको सन्दर्भमा बिदा थपिँदा यसको प्रयोग र यसका कारण भैरहेको समस्यामा थप बृद्धि हुन जाने देखिन्छ । अर्को पक्ष रेष्टुरेन्ट संस्कृति र उपभोगवादी चरित्र बढ्दा भएको सिमित आम्दानी उपभोगमा सकिँदा बचत तथा पूँजी निर्माण र उद्यमशीलता प्रभावित हुनसक्छ ।

समग्रमा हाम्रो विकास र सुशासनका लागि हप्तामा दुइदिन सार्वजनिक विदा नगर्दा चाहीँ यो यो समस्या पर्न गएको छ भन्ने धारबाट सही आधार निकाल्न नसक्दासम्म दुइदिने विदाले अहिलेकै नेपाली समाज र सन्दर्भमा कुनै पनि कारणले सकारात्मक नतिजा दिन सक्ने देखिन्न । त्यसमा पनि विदाको उठान गर्ने पक्षको स्वार्थकै कारण अध्ययन गर्ने तहसम्म आइपुगेको देखिन्छ । हुनत स्वार्थ समूहको प्रभावले त्यस्ता धेरै गलत निर्णय भएका छन् मुलुकमा ।