हेटौंडाः सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउने ज्येष्ठ नागरिक भत्ता अर्थात वृद्धभत्ताको पहिलो किस्तावापतको रकम वृद्धाश्रमलाई सहयोग गरिएको छ । हेटौंडा–१६, हटिया चिसापानीका शिवप्रसाद दाहालले पहिलो किस्तावापत प्राप्त ६ हजार ५ सय रुपैयाँले खाद्यान्न खरिद गरेर शनिबार हेटौंडा–१५, रातोमाटेस्थित ज्येष्ठ नागरिक आश्रयस्थल दिव्यसेवा निकेतन हेटौंडालाई सहयोग गर्नुभएको छ ।

दिव्यसेवा निकेतनलाई चामल, दाल, चिनी, नुन, तेल, बिस्कुटलगायतका सामग्री हस्तान्तरण गरिएको हो । सामाजिक सुरक्षा भत्तावापत आफूले पहिलोपटक प्राप्त गरेको वृद्धभत्ता वृद्धहरुलाई नै सहयोग गरेको दाहालले बताउनुभएको छ । निकेतनका अध्यक्ष यादव गजुरेलको अध्यक्षता तथा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टीआर निरौलाको प्रमुख आतिथ्य रहेको सहयोग हस्तान्तरण कार्यक्रममा दाहालकी पत्नी शान्तादेवी दाहाल, छोराहरु नवीनराज दाहाल, सुदन दाहाल, प्रकाश दाहाललगायतको उपस्थिति रहेको थियो ।