हेटौंडाः बागमती प्रदेशमा एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल व्यवस्थापन निर्देशक समिति गठन भएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सदस्यसचिव रहने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य र नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिका अध्यक्ष सदस्य रहने व्यवस्था रहेको छ ।
हालै गठन भएको समितिको पहिलो बैठक बस्ने तयारी भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य चिकित्सक तथा समितिका सदस्यसचिव डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो । गठित समितिले प्रदेशमा छरिएर रहेका एम्बुलेन्सहरुलाई एकद्वार प्रणालीबाट छिटो, छरितो सेवा उपलब्ध गराउने भएको छ । यस्तै प्रदेशमा एम्बुलेन्स खरिद तथा सञ्चालन गर्न अनुमति दिने काम समितिले गर्ने भएको छ । समितिले प्रदेशमा कार्यविधि नै बनाएर ‘क’ वर्गको एम्बुलेन्स, ‘ख’ वर्गको एम्बुलेन्स तथा अन्यको खरिद गर्न, सञ्चालन गर्न तथा भन्सार छुट गर्न सिफारिस गर्ने भएको सदस्यसचिव सेढाईंले बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले कोभिडको समयमा एम्बुलेन्सको सेवा सहजै नपाएको बताउनुभयो । जोखिम तथा आवश्यक परेको समयमा प्रदेशको राजधानी हेटौंडामा समेत एम्बुलेन्सको सेवा नपाएको उहाँले बताउनुभयो । आफ्नो संयोजकत्वमा बनेको समितिले अब प्रदेशमा भएका एम्बुलेन्सहरुको लगत संकलन गर्ने, अनुमति लिएका एम्बुलेन्सहरु सञ्चालनमा भए/नभएको अनुगमन गर्ने, नयाँ खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गर्नेलगायतका अन्य विविध कामहरु गर्ने उहाँले बताउनुभयो । प्रदेशमा पहिलोपटक एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल व्यवस्थापन निर्देशक समिति गठन भएको हो । यसअघि प्रत्येक जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारीले एम्बुलेन्स आवश्यक भएको सिफारिस तथा भन्सार छुटका लागि सिफारिस गर्दै आएकोमा अब भने प्रदेशको यो समितिले गर्ने उहाँले बताउनुभयो ।