हेटौंडाः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै अवधिमा ३९ जना हिंसाबाट पीडित बनेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदनले अभियानकै क्रममा उल्लेख्य घटना हुने गरेको पाइएको हो ।
मानव अधिकार अनुगमन र मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको इन्सेकले सन् २०२० को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म इन्सेक अनलाइनमा प्रकाशित महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूका आधारमा सार्वजनिक प्रतिवेदनले लिंगका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा बृद्धि हुँदै आएको देखाएको हो । १६ दिने अभियानको अवधिमा सार्वजनिक भएका हिंसासम्बन्धी घटनामा दुई वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेकोदेखि ७१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकोसम्म रहेका छन् । इन्सेक अनलाइनमा प्रकाशित समाचारअनुसार पीडितहरूमध्ये १० वर्षमुनिका १२ जना, ११ वर्षदेखि २० वर्ष उमेर समूहका १४ जना, २१ वर्षदेखि ३० वर्षसम्म ८ जना, ३१ वर्षमाथिका ५ जना गरी ३९ जना रहेका छन् ।
उक्त अवधिमा १० जना महिला र १४ जना बालिकालाई बलात्कार गरिएको, दुई जना महिलालाई बलात्कार प्रयास भएको, ९ जना बालिकामाथि यौन दुव्र्यवहार गरिएको, एकजना महिलालाई कथित बोक्सीको आरोप लगाइएको, एकजना महिला र एकजना बालिकाको हत्या गरिएको र एकजना बालिका बालविवाहबाट पीडित बन्नुपरेको प्रतिवेदनमा उल्लेख छ । शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने थुप्रै कानुनी र नीतिगत व्यवस्था रहे पनि कार्यान्वयनको अवस्था सन्तोषजनक मान्न नसकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘महिलाको राजनीतिक सहभागिताको अवस्थामा केही सुधार भए पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैंगिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन्, त्यो भने भयावह नै छ ।’
‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइएको यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीबार समापन भएको छ । २०५४ सालबाट नेपालमा लिंगका आधारमा हुने हिंसाको न्यूनीकरणका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले हरेक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिएको छ ।