हेटौंडाः हेटौंडाको दुई स्थानमा आज रक्तदान कार्यक्रम भएको छ । आज बिहान हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिर परिसर र हेटौंडा–१६, चिसापानीमा रक्तदान कार्यक्रम भएको छ । दुबै स्थानमा ४१-४१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिर परिसरमा रेडक्रस हेटौंडा उपशाखाका सभापति शिवहरी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । रेडक्रस उपशाखा र लायन्स क्लब अफ हेटौंडा सूर्योदयको संयुक्त आयोजनामा भएको कार्यक्रममा लियो क्लबहरुले पनि सहयोग गरेका थिए । कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नविन सिग्देल, लायन्स क्लब ३२५ बी २ का डिष्ट्रिक गभर्नर शम्भू नकर्मी लगायतको उपस्थिति रहेको थियो । यस्तै हेटौंडा–१६, हटियामा पशुपति युवा क्लब र युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पशुपति युवा क्लबमा अध्यक्ष राजिव सापकोटाको अध्यक्षता तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रममा कार्यक्रम भएको हो ।
हेटौंडामै रगतको खपत बढेको, चितवनबाट समेत रगत माग भएर आएसँगै रगत अभाव भइरहेका बेला केहीदिन यता रक्तदान कार्यक्रम भइरहेका छन् । पर्सी सोमबार हेटौंडा–५ मनकामनाचोकस्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।