हेटौंडाः सिराहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिता २०७७ को उपाधि विजेता हेटौंडाको एफसी मुण्डियालका खेलाडीहरुलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको छ । शुक्रबार हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा वनभोज कार्यक्रमसमेत आयोजना गरेर एफसी मुण्डियालका खेलाडीलाई पुरस्कृत गरिएको हो ।

हेटौंडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबको समन्वयमा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा समितिका अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, एन्फाका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । गत सोमबार भएको फाइनल खेल जित्दै एफसी मुण्डियालको टिमले दुई लाख २२ हजार रुपैयाँ नगदसहित उपाधि जितेको थियो ।