हेटौंडाः संघीय सरकारले बागमती प्रदेशका ५ जिल्लाका स्थानीय तह मातहतमा रहेका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहत व्यवस्थापन गर्ने निर्णय गरेको छ । संघीय सरकारको मंसिर १८ गतेको निर्णयसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकार मातहतमा स्वास्थ्य संस्था रहने भएको छ । यसअघि बागमती प्रदेशका ५ जिल्लामा प्रदेश सरकार मातहतका अस्पताल थिएनन् ।

संघीय सरकारको मंसिर १८ गतेको निर्णय बुधबार सार्वजनिक भएको हो । संघीय सरकारले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ललितपुर जिल्लाको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल, दोलखाको चरिकोट अस्पताल र काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई प्रदेश सरकार मातहत व्यवस्थापन गर्ने निर्णय भएको छ । बागमती प्रदेश सरकारले गत भदौ १६ गते र १८ गते दुई पटकको बैठकमा ५ जिल्लाका स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहत व्यवस्थापनको निर्णय गरिदिन भन्दै संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित स्थानीय तहसँग सहमति लिएर बागमती प्रदेश सरकारले संघीय सरकारलाई व्यवस्थापनको जिम्मा दिन अनुरोध गर्ने निर्णयअनुसार नै संघीय सरकारले निर्णय गरिदिएको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशका ५ जिल्लामा प्रदेश सरकार मातहतका स्वास्थ्य संस्था नभएकै कारण व्यवस्थापनको जिम्मेवारी प्राप्तीका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

संघीय सरकारको निर्णयसँगै अब प्रदेश सरकारले ती अस्पतालको व्यवस्थापन र स्तरोन्नति प्रादेशिकस्तरमा गर्ने महाशाखा प्रमुख विष्टले बताउनुभएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको अस्पताल स्थापित गर्ने उल्लेख गरेको थियो ।