हेटौंडाः जेसीआई हेटौंडाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको फाइनलमा उत्कृष्ट घोषित हुँदै नवलपरासीकी प्रिन्सी काफ्लेले ३५ हजार रुपैयाँ पुरस्कार जित्नुभएको छ । जेसीआई हेटौंडाले हरेक महिना आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट सहभागी बीच बुधबार अन्तिम प्रतिस्पर्धाको आयोजना गरिएको हो ।
प्रतियोगितामा चितवनका प्रेम पाण्डे दोस्रो हुँदै नगद २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत हुनुभयो भने मकवानपुरकी सुष्मा पुडासैनी तेस्रो हुँदै नगद १५ हजार रुपैयाँसहित पुरस्कृत हुनुभएको छ । जेसीआई हेटौंडाले वर्ष २०२० को प्रमुख कार्यक्रमको रुपमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । मासिक रुपमा १० महिना प्रतियोगिता आयोजना गरिएको थियो । बुधबार अन्तिम प्रतिस्पर्धामा घनश्याम घिमिरे, निमेष निखिल, नीरा शर्मा र दीपक राज मिश्र निर्णायक रहनुभएको थियो ।
वक्तृत्वकला प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको थियो । पुरस्कार वितरण समारोहमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।