हेटौंडाः शान्तिका लागि साझा अभियान (कोक्याप) ले नागरिक समाजको अवस्था विश्लेषणसम्बन्धी कार्यशालाको आयोजना गरेको छ । मंगलबार हेटौंडामा आयोजना गरिएको कार्यशालामा नागरिक समाजको अवधारणा र समाजमा नागरिक समाजको अवस्थाका विषयमा मूल्यांकन समेत गरिएको थियो ।

कोक्यापका कार्यक्रम व्यवस्थापक सरोज नेपालले नागरिक समाजको अवधारणाको विषयमा अवधारणापत्र प्रस्तुत गर्नुका साथै कार्यशालामा सहभागीको सुझावका आधारमा बागमती प्रदेशमा नागरिक समाजको अवस्थाका बारेमा मूल्यांकन गर्नुभएको थियो । कोक्याप बागमती प्रदेश समितिका संयोजक तथा केन्द्रीय समिति सदस्य वीरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले नागरिक समाजको उपस्थिति कमजोर रहेको उल्लेख गर्नुका साथै नागरिक समाजको संरचना नै समाजमा अमूर्त र अस्पष्ट भएको बताएका थिए ।

कोक्यापले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने, भेला हुने अधिकार, जनप्रतिनिधि तथा सरकारले नागरिक तथा सरोकारवालासँग गर्ने संवादका आधारमा सहभागीको मत समेत संकलन गरिएको थियो ।