विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको खैराङका ८ विद्यालयमा अध्ययनरत एक हजार १० जना विद्यार्थीलाई स्वच्छता किट वितरण गरिएको छ । कोभिडको महामारीपछि बन्द रहेको विद्यालय पुनः सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले राक्सिराङ गाउँपालिकासँगको सहकार्यमा चाइल्ड रेस्क्यू नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाले ८ वटा विद्यालयहरुलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

प्रत्येक विद्यालयले विद्यार्थी संख्याको आधारमा १० लिटर सेनिटाइजर, १० कार्टुन साबुनको झोल, ज्वरो नाप्ने थर्मल गन, पञ्जा र प्रतिविद्यार्थी १५ वटाका दरले मास्क सहयोग गरिएको छ । विद्यार्थीले प्राप्त गर्ने स्वच्छता किटभित्र सेनिटाइजर, साबुन, सेनिटरी प्याड, मञ्जन–ब्रस, काइँयो, नेलकटर, रुमाल रहेको छ ।

संस्थाले जिल्लाको विकट तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै बालबालिकाको शिक्षा तथा विद्यालयको भौतिक संरचना, खानेपानी र बालबालिका बेचबिखनविरुद्ध बिभिन्न सचतेनामूलक कार्यक्रम गर्दै आएको छ । संस्थाले स्वास्थ्य सामग्री राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङ र राक्सिराङ गाउँपालिकाका शिक्षा प्रमुख प्रदिप पराजुलीलाई हस्तान्तरण गरेर विद्यालयमा वितरण गरेको थियो ।