उपाधी साथ हेटौंडाको एफसी मुण्डियालको टिम ।

हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लबले सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा भएको राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको उपाधी जितेको छ । सोमबार भएको फाइनल खेलमा काठमाडौंको चर्च ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एफसी मुण्डियालले उपाधी जितेको हो । एफसी मुण्डियालले उपाधीसहित दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगदसहित शिल्ड तथा मेडल प्राप्त गरेको छ ।

उपाधी ग्रहण गर्दै एफसी मुण्डियालका कप्तान अमीर श्रेष्ठ र प्रशिक्षक सुविन घिमिरे ।

एफसी मुण्डियालका लागि रवि थिङले पहिलो हाफमा र अफ्रिकी खेलाडी हमजद होसिउले दोस्रो हाफमा गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ दि म्याच एफसी मुण्डियालका रवि थिङ भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी एफसी मुण्डियालका रक्षक जनक कार्की घोषित भए भने उत्कृष्ट गोलरक्षक एफसी मुण्डियालकै अनिष देउला घोषित भए । अमीर श्रेष्ठको कप्तानीमा टिमले राम्रो खेल प्रदर्शन गर्दै उपाधी जित्न सफल भएको एफसी मुण्डियालका प्रशिक्षक सुविन घिमिरेले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट रक्षक तथा फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका एफसी मुण्डियालका खेलाडीहरु ।

यसअघि शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा चितवनको हर्दि युवा समाजलाई टाइब्रेकरमा पराजित गर्दै एफसी मुण्डियाल फाइनल प्रवेश गरेको थियो । एफसी मुण्डियालले मंसिर १५ गते भएको उद्घाटन खेलमा मोरङ बेलबारीको डाँगीहाट फुटबल क्लबलाई सडनडेथमा पराजित गरेर विजयी सुरुवात गरेको थियो ।