![janatamavi3](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/janatamavi3-696x321.jpg)
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविले योगदानमा आधारित छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण गरेको छ । शिवम सिमेन्ट उद्योगसँगको सहकार्यामा २०७६ सालदेखि सुरु भएको योगदानमा आधारित छात्रवृत्ति कोषबाट पहिलो पटक बिहीबार छात्रवृत्ति रकम वितरण गरिएको हो ।
कक्षा १० उत्तीर्ण गरेका ३२ जना विद्यार्थीले जनही दुई हजार चार सय रुपैयाँ पाएका छन् । एक वर्षको अवधिमा एक हजार दुई सय रुपैयाँ जम्मा गरेका विद्यार्थीलाई विद्यालयको तर्फबाट विद्यार्थीले बचत गरेको रकम बराबर रकम थप गरेर छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले मासिक एक सय रुपैयाँको दरले बचत गरेको रकम एसईई उत्तीर्ण गरेपछि फिर्ता गर्ने गरी योगदानमा आधारित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक होमबहादुर नेपालीले जानकारी दिनुभएको छ । विद्यार्थीहरु विद्यालयमा नियमित उपस्थित नहुने र बीचमै पढाई छाड्ने समस्या समाधान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
एक वर्षको अवधिमा कोषको प्रभावस्वरुप विद्यार्थीको विद्यालयमा उपस्थिति दर बढेको र बीचमै पढाई छाड्ने दर घटेको प्रधानाध्यापक नेपालीको भनाइ छ । शैक्षिकसत्र २०७५ मा कक्षा ६ देखि १० सम्म २६ जना विद्यार्थीले पढाई छाडेकामा शैक्षिकसत्र २०७६ मा ८ जनाले मात्र बीचमै पढाई छाडेका छन् ।
कक्षा १० मा ३२ जना विद्यार्थी भर्ना भएकोमा ३२ जानले विद्यालयको अन्तिम आन्तरिक मूल्यांकनमा भाग लिएका छन् । छात्रवृत्ति वितरण कार्यक्रममा वडा अध्यक्ष सूर्य बहादुर रुम्बाले विद्यालय र शिवम् सिमेन्ट उद्योगको सहकार्य सराहनीय रहेको उल्लेख गर्नुहुँदै छात्रवृत्तिवापत प्राप्त रकमलाई उच्च शिक्षा हासिल गर्ने क्रममा खर्च गर्न अनुरोध गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिमान रुम्बाको उपस्थितिमा छात्रवृत्ति वितरण कार्यक्रम भएको हो ।
एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा केही राहत समेत हुने अपेक्षासहित विद्यालय सञ्चालन गरेको योगदानमा आधारित छात्रवृत्ति कार्यक्रममा विद्यालयको तर्फबाट प्रतिविद्यार्थी प्रतिमहिना एक सय रुपैयाँ शिवम् सिमेन्ट उद्योगले उपलब्ध गराउने सहमति भएको छ ।