छनोट खेल खेल्दै ।

हेटौंडाः प्रधानमन्त्री कपका लागि जिल्ला टिम छनोट गर्न आयोजना गरिएको तेस्रो खेलमा पनि विशाल फूयाँलको टिम विजयी भएको छ । यससँगै तीन खेल विशाल फूयाँलको कप्तानीको टिमले क्लिन स्वीप गरेको छ । शुक्रबार भएको अन्तिम खेलमा विशाल फूयाँलको टिमले रामनरेश गिरिको टिमलाई ६५ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको विशाल फूयाँलको टिमले निर्धारित ४० ओभरको खेलमा ३९ ओभरमा अल आउट हुँदै दुई सय १० रन जोड्न सफल भयो । टिमका लागि गौरव खड्काले ७२, विशाल फूयाँलले ६९ र तक्षक सिम्खडाले १८ रन जोड्न सफल भए । रामनरेश गिरिको टिमबाट बलिङ गर्ने समीर चौलागाईले ३ र रिजन ढकालले २ विकेट लिए । दुई सय ११ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको रामनरेश गिरिको टिम निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४५ रन मात्रै बनाउन सफल भयो ।

रामनरेश गिरिको टिमलाई सस्तैमा समेट्ने क्रममा विपुल खनालले ५ र असिम श्रेष्ठले ४ विकेट लिए । रामनरेश गिरिको टिमबाट रिजन ढकालले ४५, रामनरेश गिरिले २६, विपन बानियाँले १६ र शुभ कंशाकारले १४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । यसँगै तीन दिनको छनोट खेल सकिएको छ । तीन दिनको खेलमा प्रदर्शनको आधारमा जिल्ला टिमको घोषणा गरिने प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभएको छ ।