हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लबले सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा सोमबारबाट सुरु भएको राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा एफसी मुण्डियालले मोरङ बेलबारीको डाँगीहाट फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा ४–४ गोलको बराबरीपछि सडनडेथमा मोरङलाई पराजित गर्दै एफसी मुण्डियाल विजयी भएको हो ।
म्यान अफ द म्याच एफसी मुण्डियालका गोलरक्षक अनिष देउला घोषित भए । प्रतियोगिताको उपाधी विजेताले दुई लाख २२ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर २२ गते हुनेछ ।