हेटौंडाः हेटौंडा–२, कान्तिराजपथस्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम शनिबार भएको छ । एक सातासम्म चल्ने साधारणसभाको उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष विश्वराज बानियाँको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सहकारी विभागको निर्देशन बमोजिम सहकारीले आफ्ना सेयर सदस्यलाई एकसाताको समय दिएर साधारणसभामा सहभागी भई उपस्थिति जनाउन र आवश्यक सल्लाह सुझाव दिन अनुरोध समेत गरेको छ । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष विश्वराज बानियाँले सहकारीमा ८ सय १८ जना सेयर सदस्य रहेको जानकारी दिनुभयो ।

एक करोड ३० लाख ४० हजार रुपैयाँ सेयर पुँजी भएको सहकारीले ३ करोड ६ लाख ८९ हजार रुपैयाँ बचत संकलन गरेको छ भने ४ करोड ७० लाख ५४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभामा कोषाध्यक्ष भीम कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष जयराम देवकोटाको पनि उपस्थिति रहेको थियो ।