हेटौंडाः हेटौंडाका ४ वटा वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा छ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार विहान हेटौंडा–१ मा आयोजित कार्यक्रममा तीन सय ४५ जना, हेटौंडा–१० मा आयोजित कार्यक्रममा ५० जना, कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा ४५ जना र हेटौंडा–१९ मा एक सय ७५ जना कांग्रेस प्रवेश गरेका छन् ।
हेटौंडा–१० मा वडा सभापति कालू घलानको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम भएको हो । हेटौंडा–१, नकौलीमा कांग्रेसको पहलमा निर्मित लोकतान्त्रिक सामाजिक गुठीको सामुदायिक भवन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
हेटौंडा–१ का वडा सभापति हरिकृष्ण महर्जनको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । शनिबारै नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रम भएको थियो । कांग्रेस प्रदेश २ (ख) का क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षता तथा पार्टी सचिव बुद्ध लामाको प्रमुख आतिथ्यमा हेटौंडा नगरका विभिन्न वडाका ४५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।
त्यसैगरी शनिबारै हेटौंडा–१९, बस्तीपुर कुनाटोलमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एक सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस वडा सभापति धनबहादुर गुरुङको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टी जिल्ला कार्यसमितिका पदाधिकारी तथा जिल्ला सदस्यहरु, सल्लाहकारहरु, नगर सभापति, संघीय सभापति, क्षेत्रीय सभापति, वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।