ध्रुबप्रसाद चौलागाई, (नेकपा मकवानपुर जिल्ला कमिटीका सदस्य ध्रुबप्रसाद चौलागाईले मिति २०७७ साल मंसिर १० गते नेकपाको केन्द्रिय कार्यालयमा दर्ता गराउनुभएको सुझावपत्र ।)

सम्माननीय अध्यक्ष ज्युहरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्यालय, काठमाडौं ।
म विगत ४३ बर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनको समर्थक, शुभेच्छुक हुँदै विभिन्न जनवर्गीय संगठन र पार्टी कमिटीमा रही हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेको छु । अहिलेसम्म कुनै लाभको पद लिएको छैन । मात्र नेपाली जनताको हितका लागि नेपालमा कम्युनिष्ट पार्टीको सरकार बनेमा मात्रै सम्भव छ भन्ने आशा राख्दै पार्टीमा लागी आफ्नो जिम्मेवारी बहन गर्दै आइरहको छु । तर अहिले नेकपा भित्र भएको आन्तरिक विवादले म लगायतको लाखौं कार्यकर्ताको भावनामा ठेस पुगिरहेकोले तल्लो तहमा रहेका कार्यकर्ताहरुको तर्फबाट केही सुझावहरु पेश गरेको छु । आशा छ अध्यक्ष कमरेडहरुबाट मनन् हुनेछ भन्ने आशा राख्दछु ।

१) कम्युनिष्ट पार्टीहरुमा विचार र सिद्धान्तका लागि द्वन्द्व हुन्छ भन्ने कुरा तपाईहरुले नै सिकाउँदै र हामीले पढ्दै आयौं । तर, अहिलेको आन्तरिक विवादमा कतै पनि विचार, सिद्धान्तको आभास नभएकोले आन्तरिक विवाद केका लागि हो भन्ने आम कार्यकर्तालाई प्रष्ट पार्न आवश्यक भएकोले यसतर्फ ध्यान जाओस् भन्ने आग्रह गर्दछु ।

२) तपाईहरु दुबैजनाले पार्टी एकता गरी केन्द्रिय कमिटीको प्रथम बैठकबाट पारित गराउनु भएको राजनीतिक प्रतिवेदनमा उल्लेखित कुराहरु एकपल्ट सिंहावलोकन गर्न आग्रह गर्दछु ।
३) तपाईहरु नै लिने र दिने स्थानमा हुनुहुन्छ जेजे लिनेदिने हो कोठाभित्रै लिनेदिने छलफल गर्नुहोस् । मन माझ्नुहोस् । तर पत्रपत्रिकामा आफ्ना विचार भावना सार्वजनिक गरेर कार्यकर्ताको भावनालाई खण्डित गराउने काम नगर्न आग्रह गर्दछु । ४) मानवीय स्वभावले कोही क. केपी ओलीसँग कोही क. प्रचण्डसँग अलिबढी नजिक हुन सक्छन् । तर, एउटा नेताको अलिबढी नजिक हुँदैमा अर्का नेताको कुनै पनि कुरा मनै नपर्ने र मन नपराउने पक्कै हुँदैन । एउटा नेतासँगको लामो सहकार्यले कोही नजिक होला तर अर्का नेताको त्याग योगदानको पनि मूल्यांकन गरेकै हुन्छन् । आदर, सम्मान गरेकै हुन्छन् । त्यसैले यो वा त्यो पक्षको भन्ने कुरालाई महत्व नदिनुस् । सबै सबैका हुन् र सबै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन क्रियाशील भएका हुन् भन्ने कुरालाई हेक्का राखेर सहकार्य गर्न आग्रह गर्दछु ।

५) पार्टी एकतापछिको निर्वाचनमा हामीले जनतासँग मत माग्दा अब हाम्रो पार्टी सरकारमा गएर गरेको कामलाई हेरेर मत दिनुहोला भनेको छौं । त्यसैले केकसरी राम्रा काम गरेर देश र जनताको हितलाई सर्वाेपरि बनाउन र मन जित्न सकिन्छ भन्ने कुरालाई ख्याल गर्नुस् अन्यथा भोलिका दिनमा जनताबाट तिरस्कृत हुन सकिन्छ भन्ने कुरालाई ख्याल गर्न आग्रह गर्दछु ।
६) तपाईहरुका बीचमा असमझदारी भए पनि कार्यकर्ताको भावनालाई तपाईहरुले अनादर गर्न पाउनु हुन्न । त्यसैले तोकिसकेको महाधिवेशनबाट पनि धेरै कुराका छिनोफानो गर्न सकिने भएकोले चाँडो महाधिवेशन गर्नतर्फ ध्यान दिएर वैचारिक बहस थाल्न पाएपनि यो समस्या समाधान हुनसक्छ भन्ने लागेकोले यसतर्फ ध्यान दिन आग्रह गर्दछु ।

र अन्तमा पद र लाभ लिनेले लिई रहने, नेताको नजिक भए मात्रै राम्रो हुने सबै कुरा उनिहरुले नै पाउने, को कहाँ कहिलेदेखि कम्युनिष्ट आन्दोलनमा लाग्यो उसको योगदान के थियो भन्ने खोजबिन नै नहुने, पार्टी कमिटी चलायमान नहुँदा नेतापिच्छेका मानिसहरु हुने, कुनै नेताको पछि नलागे नजिक नभए सबै अवसरहरुबाट वञ्चित हुने, जस्ता कुराहरुले हाम्रो पार्टीलाई धरासायी बनाउने र त्याग तपस्या गरेर कम्युनिष्ट आन्दोलन सफल भए देश र जनताको हित हुन्छ भन्ने उद्देश्य लिएर लागेको लाखौं कार्यकर्ताको मन समेत दुख्ने भएकोले आन्तरिक विवाद आपसी छलफलबाटै समाधान गरौं लाखौं जनताको भावनामा ठेस पुग्ने गरी कुनै कार्य नगरौं भन्ने अपेक्षा राख्दछु ।

साथै एकता हुने अघिल्लो दिनसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्छ भन्ने नसोचेकाहरुलाई जसरी तपाईहरुले चमत्कार गरेर देखाउनु भयो तपाईहरुका बीचमा धेरै असमझदारी छ भन्ने लागेको पनि छैन । तपाईहरुले बसेर छलफल गर्दा निकास नआउने ठूलो विषय पनि केही देखिँदैन । त्यसैले तपाईहरुबाट सबैकुरा सम्भव छ र गर्न सक्नुहुन्छ । देश र जनताका लागि कम्युनिष्ट आन्दोलनलाई जोगाउन र भावी पुस्ता र कार्यकर्ताहरुलाई पनि केही गर्ने स्थान सुरक्षित गराउन पनि तपाईहरुको समझदारी आवश्यक छ । त्यसैले यी सुझावहरुमा ध्यान जाओस् भन्ने हार्दिक अनुरोध गर्दछु ।