हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकाको अध्ययनका लागि विद्यालय व्यवस्थापन समितिले मास्क वितरण गरेको छ । समितिले आफ्नै लगानीमा मास्क खरिद गरी विद्यार्थीलाई वितरण गरेको हो । विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु गरिएको छ ।
विद्यालयमा अध्ययनरत पाँच सय बालबालिकाका लागि एक हजार थान मास्क वितरण गरिएको समितिका अध्यक्ष माधव गौतमले जानकारी दिनुभयो । प्रतिविद्यार्थी दुई थान मास्क वितरण गरिएको हो । नियमित पठनपाठनका लागि बालबालिकालाई सुरक्षा मापदण्ड पालना गर्नु जरुरी रहेकोले मास्क, सेनिटाईजर, साबुन पानीको व्यवस्था गरिएको अध्यक्ष गौतमले बताउनुभयो । अध्यक्ष गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य राधाकृष्ण सिम्खडा, मंगलबहादुर मोक्तानले एक हजार थान मास्क, सेनिटाईजर र साबुनको व्यवस्था गरेका थिए । बालबालिकालाई अध्यापनका लागि वैकल्पिक व्यवस्था गर्न असम्भव भएपछि सुरक्षाको मापदण्ड अपनाएर कक्षाकोठामै राखेर पठनपाठन सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सुशील गौतमले जानकारी दिनुभयो ।