हेटौंडाः सिविन नेपालले सोमबार आफ्नो आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण सार्वजनिक गरेको छ । बालअधिकारको संरक्षण र सम्बर्धनका लागि क्रियाशील संस्था सिविन नेपालले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा गत वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सिविन नेपालले गत वर्षमा कोभिड–१९ मा बालबालिकालाई सम्बोधन गरेको छ । बालबालिकाको उद्दार, हेल्पलाईन, राहत लगायत अन्य कार्यक्रमबाट १० हजार भन्दा बढी बालबालिकालाई सम्बोधन गरेको छ । यस्तै विद्यालय पुनर्निर्माणबाट दुई हजार चार सय ४८ जना बालबालिका तथा बालहेल्प लाइन १०९८ मा धनगढी, नेपालगञ्ज, पोखरा, हेटौंडा, काठमाडौं र विराटनगरमा ६५ हजार पाँच सय ३६ कल आएकोमा तीन हजार सात सय ४९ जनालाई सेवा दिएको छ । यस्तै बालबालिकाहरुलाई शैक्षिक कार्यक्रम, सीप शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।

लकडाउनको समयमा सिविन नेपालको मकवानपुर शाखामा मात्रै एक सय ५१ बालक र दुई सय तीन बालिकाको घटना दर्ता भएको छ । उनीहरुको बालविवाह, दूव्र्यहार, दुर्घटना, हेपाई, शारीरिक तथा मानसिक दण्ड लगायतको घटना दर्ता भएको हो । यस्तै काठमाडौं, मोरङ, मकवानपुर, बाँके, कास्की र कैलालीमा लकडाउनको अवधिमा मात्रै तीन हजार पाँच सय ७८ बालबालिकाको यस्तै घटनाहरु दर्ता भएको सिविन नेपालले सार्वजनिक गरेको छ । सिविन नेपालले अब बालअधिकार, उच्चतम् हित र संरक्षणमा अझ सशक्त रुपमा लाग्ने, बालबालिका एवम् संस्थाप्रति जवाफदेही हुन सिविन नेपालले आर्थिक अपचलन, भष्टाचार विरुद्ध शून्यसहलशीलताको नीति लिएको मकवानपुरका शाखाका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो ।