प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालय

हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख (डिआईजीसँग) प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम आजबाट सुरु भएको छ । बागमती प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीलाई पेशागत रुपमा जिम्मेवार बनाउन तथा तोकिएको जिम्मेवारी उच्च मनोबलका साथ सम्पादन गर्ने वातावरण सृजना गर्ने उद्धेश्यले प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको गुनासोलाई सम्बोधन गर्न र उचित सुझावहरुलाई कार्यान्वयनमा ल्याउन प्रदेश प्रहरी प्रमुखसंग प्रत्यक्ष टेलीफोन संवाद कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्षेत्रमा बिभिन्न जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरुले आफुले भोगेका समस्या, चुनौती तथा पिर–मर्का र गुनासोका साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन राय सुझाव संकलन गरी उचित सम्बोधनको लागि प्रदेश प्रहरी प्रमुखसंग टेलीफोन संवाद कार्यक्रम संचालन लागिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

प्रहरी कार्यालय सहयोगी देखी उच्च तहका प्रहरी अधिकृत सम्मका प्रहरी कर्मचारीहरुलाई निश्चित समय र बार निर्धारण गरी टेलिफोन संवाद कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ । कार्यक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको क्षमता प्रर्दशनमा मनोबल वा मनस्थितीको प्रमुख भुमिका रहने भएकोले प्रहरी कर्मचारीहरुको मनोबल वा मनस्थितीलाई सकारात्मक बनाउन उनिहरुमा रहेको समस्या वा गुनासोको उचित सम्बोधन हुनु जरुरी भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमले प्रहरी कर्मचारीहरुको गुनासो वा समस्याको मात्र सम्बोधन नगरी कार्यरत प्रहरी कर्मचारीहरुको कार्य सम्पादनको अवस्थामा सुधारको लागि अपेक्षीत राय सुझाव समेत संकलन गर्ने लक्ष्य लिइएको छ । दर्जागत रुपमा निर्धारण गरीएको समय र बार अनुसार प्रहरी कर्मचारीहरुले आफुलाई प्रदान गरीएको समयमा प्रदेश प्रहरी प्रमुखको कार्यालयको नम्बर ९८५५०८४४४४ मा सम्पर्क गरी आफ्नो पिर मर्का, गुनासो तथा सल्लाह सुझाव राख्न सक्ने प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जानकारी गराउनुभयो ।