हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ मा एक विद्यालय एक नर्सको लागि २३७ नर्सको आवेदन माग गरेकोमा ११९२ जनाले सबै कागजपत्र पुर्‍याएर आवेदन दिएका छन् । यस्तै कागजपत्र पुरा नगरेर आवेदन दिएका १ सय ४ जनाले भने अपुग कागजपत्र अनलाइन मार्फत पुनः उपलब्ध गराउन पाउने भएका छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु वर्षको लागि बागमती प्रदेशको ११९ वटै स्थानीय तहको सरकारी विद्यालयको लागि २३७ विद्यालय नर्सको आवेदन माग गरेको हो । जसमा ११९२ जनाले सम्पूर्ण कागजपत्र पुर्‍याएर आवेदन दिएका छन् भने १०४ जनाको कागजपत्र नपुगेको तथा ४ जनाको आवेदन रद्ध भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष विष्टले जानकारी दिनुभयो ।

मन्त्रालयले ११८ स्थानीय तहका २ सरकारी विद्यालयका लागि २३६ जना र गोसाईकुण्ड गाउँपालिकाको लागि १ जना नर्सको पूर्ति गर्न लागेको हो । आव २०७५/७६ बाट प्रदेशको २० वटा सरकारी विद्यालयमा पाइलट गरेर सुरु गरिएको एक विद्यालय एक नर्स कार्यक्रम सफल भएको छ । अहिले बागमती प्रदेशको ११९ स्थानीय तहको एक विद्यालयमा एक नर्स उपलब्ध गराइएको छ । एक विद्यालय एक नर्सको अवधारणा अनुसार यसअघि पूर्ति भएका नर्सहरुलाई अब स्थानीय तहले हेर्ने भएका छन् भने चालु वर्षमा प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहका २ सरकारी विद्यालयमा नर्स उपलब्ध गराउँदैछ ।