पाँच वर्षअघि निकालिएको भिन्तुना र्‍याली । फाइल तस्वीर ।

हेटौंडाः नेपाली सम्वत नेपाल सम्वतको नयाँ वर्षको अवसरमा सीमित सहभागितामा भिन्तुना (शुभकामना र्‍याली हुने भएको छ । नेवा सांस्कृतिक पुचः को आयोजनामा सीमित सहभागितामा र्‍यालीको आयोजना हुने बताइएको छ । नेपाली मौलिक सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोगमा ल्याउन दबाव दिने उद्देश्यले हरेक वर्ष देशभर भिन्तुना र्‍यालीको आयोजना हुने गरेको छ ।

नेपाली समुदायको मौलिक पर्वकै रुपमा सांस्कृतिक झाँकीसहित आयोजना हुने भिन्तुना र्‍याली यस वर्ष कोरोना महामारीको त्रासका बीच आयोजना गर्न लागिएको नेवा सांस्कृतिक पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । हरेक वर्ष आयोजना गरिने र्‍यालीमा नेवारी समुदायले मौलिक बाजा तथा लाखे नाच समेत प्रदर्शन गर्ने गरेका छन् ।

यस वर्ष भने सीमित सहभागितामा मौलिक सांस्कृतिक बाजासहित नगरक्षेत्रमा र्‍याली निकालिने महर्जनले बताउनुभएको छ । कोरोना महामारीको त्रासका बाबजुद समुदायमा शुभ सन्देश प्रवाह हुने भएकोले भिन्तुना र्‍याली सीमित सहभागितामा भए पनि निकाल्ने तयारी भएको उहाँको भनाइ छ ।