हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा परिसरमा नवनिर्मीत बहुउद्देश्यीय भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुभएको हो । मेयर महतले भवन निर्माण कार्यमा सहयोग गरेकाहरुलाई कदरपत्र प्रदान गर्नुका साथै निर्माण कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार वितरण गर्नुभएको थियो ।

बागमती प्रदेश प्रहरी कर्यालयले विभिन्न दाताहरुको सहयोगमा एक करोड एक लाख अड्चालिस हजार दुई सय उन्साठी रुपैयाँको लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । प्रहरीको आन्तरीक सभा, सम्मेलन तथा प्रशिक्षण गतिविधी संचालन गर्ने र व्यामशाला, व्याडमिण्टन, टेबलटेनिस लगायतका खेलकुद कार्यक्रम समेत संचालन गर्न मिल्ने गरी बहुउद्देश्य भवनको निर्माण गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय भवनको उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त लामा लगायत प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।