हेटौंडाः हेटौंडामा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको छ । शुक्रबार बिहान नारायणी अञ्चल आयूर्वेद औषधालयले एक कार्यक्रमको आयोजना गर्दै धनवन्तरी जयन्तीको पुजा र योग गरेर मनाइएको आयूर्वेद कार्यालयका प्रमुख सुष्टि श्रेष्ठले बताउनुभयो ।

योग गर्दै आयूर्वेद चिकित्सकहरु

देवताहरूको चिकित्सक तथा आयुर्वेदका भगवान रुपमा धनवन्तरिको आज जन्म जयन्ती रहेको उहाँले बताउनुभयो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका आयूर्वेद चिकित्सक रविन भूषालको आतिथ्यतामा योग गरेर कार्यालयले राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

आजकै दिन कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।