सभामुख सानुकुमार श्रेष्ठले विद्यार्थीहरुलाई राहत वितरण गर्नुहुँदै ।

हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले कोरोना महामारीबाट पीडितहरुलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौं महानगरपालिका–३५, कोटेश्वरस्थित न्यू तुलिप्स विद्यालयका विद्यार्थीहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेको राहत वितरण गर्नुहुँदै सभामुख सानुकुमार श्रेष्ठले सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

सभामुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४० जना विद्यार्थीलाई अभिभावकहरुको उपस्थितिमा ३ हजार देखि ४ हजार र विपन्न परिवारहरुलाई चामल, दाल लगायतका राहत सामग्री वितरण भएको छ । कोभिड–१९ महामारीबाट प्रभावित भएका विद्यार्थी तथा अन्य अभिभावकहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेको रकम वितरण गरिएको सभामुख श्रेष्ठले बताउनुभयो । घरभाडामा बस्दै आएका, काम बिहिन भएका अभिभावकका छोराछोरीलाई राहत वितरण गरिएको हो ।

पछिल्लो समय बागमती प्रदेश सभाको सातौं अधिवेशन सुरु नभएपछि सभामुख श्रेष्ठ उपत्यकामा आफ्नो गतिविधि बढाउँदै आउनुभएको छ । बुधबार न्यू तुलिप्स विद्यालयका होमनाथ अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिकी उप–प्रमुख सरिता दाहालको पनि उपस्थिती रहेको थियो । बागमती प्रदेशको प्रदेश सभाका सभामुख श्रेष्ठले उपत्यका ३ वटा जिल्लामा अहिले अनुगमन लगायतको कार्यमा आफ्नो उपस्थिति बढाएको जानकारी गराउनुभएको छ ।