निर्मल बहुमुखी क्याम्पसले निर्माण गरेको व्यावसायिक सटरहरु ।

हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसले व्यावसायिक सटर निर्माण गरेर नियमित आम्दानीको श्रोत विकास गरेको छ । क्याम्पस सञ्चालक समितिले बस्तीपुर बजारसँगै रहेको क्याम्पसको नियमित आम्दानीका लागि १२ वटा सटर निर्माण गरेर भाडामा लगाउन सुरु गरेको हो । १२ वटा सटरबाट मासिक ६० हजार रुपैयाँ आम्दानी हुने निर्मल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुहरि पण्डितले जानकारी दिनुभएको छ ।

क्याम्पस सञ्चालक समितिले व्यवसाय गर्न चाहने व्यवसायीसँग अग्रीम २४ लाख रुपैयाँ रकम धरौटीको रुपमा लिएर स्थानीय क्रसर व्यवसायीसँग निशूल्क नदिजन्य पदार्थ प्राप्त गरी व्यावसायिक भवन निर्माण गरेको अध्यक्ष पण्डितले बताउनुभयो । क्याम्पस सञ्चालक समितिको अध्यक्ष निर्वाचित भएलगत्तै क्याम्पसको नियमित आम्दानीको श्रोत विकास गर्न व्यावसायिक भवन निर्माण गर्ने निर्णय गरिएको पण्डितको भनाइ छ ।

व्यावसायिक भवन निर्माण गरेसँगै बस्तीपुर बजारक्षेत्रको विकासमा पनि योगदान पुग्नुका साथै दीर्घकालिन रुपमा क्याम्पसको आम्दानीको निश्चित श्रोत पनि स्थापित हुनेभएपछि नपुग रकम सञ्चालकहरुबाटै व्यवस्थापन गरिएको उहाँले बताउनुभएको छ । ६० लाख रुपैयाँ लागतमा निर्माण भएको व्यावसायिक सटरको पहिलो दुई महिना असोज र कात्तिकको भाडा छुट गर्नुका साथै बस्तीपुर बजारमा निजी घरहरुको तुलना भाडादर पनि सहुलियत गरिएको बताइएको छ । गत फागुनदेखि निर्माण सुरु गरिएको व्यावसायिक सटरहरु भदौ अन्तिममा निर्माण सम्पन्न भएको हो । लकडाउनका कारण निर्माणमा केही ढिलाई हुनुका साथै व्यावसायिक सटरहरुलाई आकर्षक र रंगरोगन गर्न बाँकी नै रहेको छ ।

क्याम्पसलाई हुने नियमित आम्दानीबाट क्याम्पसको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष पण्डितको भनाइ छ । स्नातक तहमा वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायको पठनपाठन हुने निर्मल बहुमुखी क्याम्पसमा दुई सय १६ जना विद्यार्थी अध्ययनरत छन् । हेटौंडा उपमहानगरपालिकाकै ग्रामीण क्षेत्रको रुपमा रहेको बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा हेटौंडा उपमहानगरको ३, १२, १९ नम्बर वडाका साथै राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका विद्यार्थी अध्ययनरत छन् ।