दुर्घटनाग्रस्त मोटरसाइकल र मोटरसाइकलभन्दा तल दुर्घटनामा परी मृत्यु भएका प्रतिक क्षेत्री ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१४, रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको परवानीपुरका २६ वर्षीय प्रतिक क्षेत्रीको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजेको समयमा प्रहरीले घटनास्थलमा पुगेर हेर्दा सडक कल्भर्डभन्दा तल खोँचमा मोटरसाइकलले थिचेको अवस्थामा क्षेत्रीलाई भेटेको थियो ।

मकवानपुर प्रहरीका अनुसार मृतक क्षेत्रीको साथबाट लागूऔषध कोरेक्स र नाइट्रोभेट समेत बरामद भएको छ । बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ८४७४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना भएको हो । क्षेत्रीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र मृतकका परिवार सम्पर्कमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।