हेटौंडाः संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रमको सहयोगमा युएन उमन एक्ट नेपालले मकवानपुरका २५० जनालाई राहत वितरण गरेको छ । कोभिड–१९ का कारण प्रभावित विपन्न, जनजाति, दलित, अपाङ्गता भएका, गर्भवती, एचआईभी संक्रमित, एकल तथा हिंसापीडित महिलालाई खाद्य तथा गैरखाद्य सहयोग गरिएको युएन उमन एक्ट नेपालकी मकवानपुर जिल्ला संयोजक प्रतिमा शाक्यले जानकारी दिनुभएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १० वटा वडाबाट ६३ लैंगिक अल्पसंख्यक तथा एक सय ८७ महिलालाई सहयोग हस्तान्तरण गरेको हो । आइतबार र सोमबार दुईदिन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा राहत सामग्री वितरण गरिएको थियो । युएन उमन एक्ट नेपालले ३० केजी चामल, दाल, चिनी जस्ता खाद्य एवम् मल, बीउ, साबुन, सर्फ, सेनेटरी प्याड, प्राथमिक उपचारका औषधी, मोवाइल, ग्यास चुल्हो सहयोग गरिएको मकवानपुर जिल्ला संयोजक शाक्यले बताउनुभएको छ ।

युएन उमनको आर्थिक सहयोग र उमन एक्टको सहयोगमा मकवानपुरको हेटौंडासँगै चितवनको माडी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा पनि सहयोग कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।