हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको भैंसेदेखि भीमफेदीसम्म सडक विस्तारको कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा सडक विस्तारको कार्य सुरु गरिएको हो । हेटौंडा–भीमफेदी–काठमाडौं छोटोमार्गअन्तर्गतको भैंसे–भीमफेदी सडक विस्तार कार्यको मंगलबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयालले उद्घाटन गर्नुभएको छ । भीमफेदी गाउँपालिका–६, धोर्सिङमा एक कार्यक्रमका बीच सडक विस्तार कार्यको उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब ६५ करोड लागत अनुमान गरेर निर्माणका लागि टेण्डर आव्हान गरेको थियो । आशिष डीएस जेभीले ३८ करोड रुपैयाँमा निर्माण गर्ने गरी पेश गरेको प्रस्तावलाई योग्य ठहर गर्दै मन्त्रालयले ठेक्का सम्झौता गरिसकेको छ । २०७९ साल असारसम्ममा निर्माणसम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सहदेव भण्डारीले जानकारी दिनुभएको छ ।
अहिले एक लेनको सडकलाई प्रदेश सरकारले दुईलेनको बनाउन लागेको हो । नालासहित १० मिटर चौडाईको सडक निर्माण गरी ७ मिटरको पिच सडक निर्माण गरिने सचिव भण्डारीले बताउनुभएको छ । भीमफेदी गाउँपालिकाको भीमफेदीबाट ईन्द्रसरोवर गाउँपालिकाको सिम्खोलासम्म सुरुङमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले साढे ११ किलोमिटर सडक भैंसे–भीमफेदी सडकलाई पनि फराकिलो बनाउँदै हेटौंडा–भीमफेदी–काठमाडौं छोटोमार्गमा ठूला मालबाहक सवारीका साधन पनि चलाउन सम्भव तुल्याउने योजना बनाएको छ ।
भैंसे–भीमफेदी सडकखण्ड विस्तार गर्ने क्रममा व्यक्तिको निजी जमिन तथा भौतिक संरचना प्रभावित हुने अवस्थासमेत रहेकोले त्यस्तो अवस्थामा नागरिकलाई मुआब्जासमेत वितरण गर्न प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ । प्रदेश सरकारले मुआब्जा वितरणको नीति तयार पारेर मुआव्जा वितरण गर्ने सचिव भण्डारीले बताउनुभएको छ । अहिले मुआव्जाको विवाद नभएको क्षेत्रमा काम गर्ने र मुआब्जाको विवाद भएको स्थानमा नीति बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ । मंगलबार सडक विस्तार कार्यको उद्घाटनमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती रानालगायत प्रदेश सरकारको सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।