Home मुख्य समाचार नागरिक समाजद्वारा मनहरी प्राथमिक स्वास्थ्य चौकीको अनुगमन

नागरिक समाजद्वारा मनहरी प्राथमिक स्वास्थ्य चौकीको अनुगमन

मनहरीः नागरिक समाज मकवानपुरले सोमबार मकवानपुरको मनहरी गाउँपालिका–७ मा रहेको प्राथमिक स्वास्थ्य चौकीको अनुगमन गरेको छ । नागरिक समाज मकवानपुरकी संयोजक रमिला सापकोटा नेतृत्वको टोलीले प्राथमिक स्वास्थ्य चौकीले गरेका कामहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा प्राथमिक स्वास्थ्य चौकीमा आएका सेवाग्राहीहरु कोरोना भाइरस सङ्क्रमणको जोखिमप्रति संवेदनशील नभएको, मास्क पनि नलाएको पाइएको थियो ।

जनतालाई स्वास्थ्य सम्बन्धी जानकारी गराएर आवश्यक सुरक्षाको मापदण्ड अपनाउन प्राथमिक स्वास्थ्य चौकीका प्रमुख डा. अनिल उप्रेतीलाई अनुरोध समेत गरिएको छ । स्वास्थ्य चौकीमा हाल स्वास्थ्य प्राविधिक १० जना, करारमा ४ जना मात्र रहेको पाइएको छ भने दरबन्दी भएको डाक्टरले राजिनामा दिएकाले महिनौं भइसक्दा उक्त स्थानमा अर्को डाक्टर स्थायी रुपमा पदपूर्ति गर्न सकेको छैन । डाक्टरको अभावमा जनताले स्वास्थ्य उपचारका लागि पालिकाभन्दा बाहिर जानुपर्ने अवस्था रहेको पाइएको छ । डा. अनिल उप्रेती भर्खर मात्र स्वयम्सेवीको रुपमा कार्य गरिराख्नु भएको र स्वास्थ्यचौकीमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्था हुन नसक्दा समस्या भैरहेको स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिक शिवराम बानियाँले बताउनु भयो । स्वास्थ्य चौकीमा हाल सरकारले निशूल्क दिने गरेको ७० प्रकारका औषधिहरुको समस्या नरहेको शिवराम बानियाँले बताउनु भयो ।

त्यसैगरी अनुगमनको क्रममा हेल्प डेस्क, मनोचिकित्सक लगायत जनताले सरकारको तर्फबाट पाइने सेवा सुविधाप्रति जनता अनभिज्ञ रहेकोले यसतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ । स्वास्थ्य चौकी अनुगमन लगतै मनहरी गाउँपालिकाको कार्यालय पुगेको टोलीले स्वास्थ्य इकाई संयोजक टीकाराम अधिकारीलाई भेटेर स्वास्थ्य चौकीमा देखिएका समस्याहरु र सुझाव दिइएको छ । त्यसैगरी टिकाराम अधिकारीले आगामी दिनमा स्वास्थ्य सेवामा देखिएको समस्यालाई समाधान गर्दै, हेल्प डेस्क, नागरिक सूचना बोर्ड राखिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने मनहरी स्वास्थ्य चौकीमा दरबन्दी भएको डाक्टरले राजिनामा दिइसकेको र अर्को डाक्टरको निम्ति आवश्यक पहल गरिरहेको र चाँडै नै नियुक्ति गरिने बताउनु भयो । अनुगमनको क्रममा नागरिक समाजका प्रतिनिधिहरु मान बहादुर वाईबा, तीर्थ बहादुर थापा मगर, निर्जला पुलामी मगर लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version