हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाएको छ । विसं १९७२ कार्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनु भएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । काठमाडौंको सम्पन्न परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित समेत गर्नुभएको थियो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएको बताउनुभयो । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालिन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेको समेत बताउनुभएको थियो ।

नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव आनन्द कठायत, सल्लाहकारद्वय अशोक शाक्य र भरत पराजुली, जिल्ला सदस्यहरु अमृता थापा मगर, भीमसेन महत, सुनिल अधिकारी, महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष प्रदिप कँडेल, भीमफेदी गाउँपालिकाकी महिला नेतृ गोरीमाया लामा लगायतको उपस्थिति रहेको थियो ।