हेटौंडाः हेटौंडा उपमहानगरपलिकाको १४ नम्बर वडा कार्यालयको भवन सोमबार शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भवनको शिलान्यास गर्नुभएको हो । मयुरधापमा वडा कार्यालय भवन शिलान्यास गरिएको वडा अध्यक्ष दिपक खड्काले जानकारी दिनुभएको छ । वडा कार्यालयको ५ कठ्ठा जमिन रहेको अध्यक्ष दिपक खड्काले बताउनु भयो ।
हेटौंडा उपमहानगरपालिकाको ४५ लाख १६ हजार रुपैयाँ वजेटमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाको योजना कार्यान्वयन शाखाका प्रमुख ईन्जिनियर सुवोध थापाका अनुसार उपमहानगरपालिकाले ७१ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरी टेण्डर आव्हान गरेकोमा सिन्धुपाल्चोक जिल्लाको बज्र निर्माण सेवाले ४५ लाख १६ हजार रुपैयाँमा निर्माण गर्ने कबोल गरेअनुसार निर्माणसम्झौता भएको हो । निर्माण कम्पनिले आगामी २०७८ साल असार १५ गतेसम्ममा वडा कार्यालयको निर्माण कार्य पूरा गरिसक्नुपर्ने छ ।
आफ्नै भवन नहुँदा वडा कार्यालय भाडाको घरमा सञ्चालनमा भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालयको भवन पनि निर्माण सुरु गर्ने चरणमा रहेको हेटौंडा उपमहानगरपालिकका मेयर हरिबहादुर महतले बताउनुभएको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको ५, ९, १२, १६ र १९ नम्बर वडाले भाडाकै घरमा कार्यालय सञ्चालन भइरहेको छ ।