हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बागमती प्रदेशकै विकट स्थानको प्रहरी चौकीको अनुगमन गर्नु भएको छ । रसुवा जिल्लाको लाङटाङस्थित १३ जनाको दरबन्दी भए पनि जनशक्ति अभावका कारण ४ जना मात्रै प्रहरी कर्मचारी कार्यरत रहेको चौकीको प्रदेश प्रहरी प्रमुख लामाले प्रथम पटक अनुगमन गर्नुभएको हो ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. ४ क्षेत्राधिकार भएको प्रहरी चौकी र सिमा प्रहरी चौकी टिमुरेको कार्यालय प्रदेशको विकट स्थानमा रहेको प्रहरी इकाई हो । २०६४ सालमा स्थापना गरिएको प्रहरी चौकीले हालसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बताउनुभयो । प्रदेश सरकारबाट उक्त चौकी निर्माणका लागि २ करोड ६४ लाख ४८ हजार रुपैयाँ बजेट निकासा भएपछि भवन निर्माण शुरु भएको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारबाट प्रदेश अन्तर्गतका ४७ वटा प्रहरी इकाई निर्माणका लागि बजेट निकासा गरेको छ । यातायातको साधन नजाने हुँदा निर्माण सामग्री ढुवानीमा कठिनाई र कोभिड १९ सङ्क्रमणका कारण निर्माण कार्यको थालनीमा ढिलाई भएको छ । यसै कुरालाई मध्यनजर गर्दै निर्माण सम्झौता पाएको निर्माण कम्पनीका प्रतिनिधिका साथै स्थानीयसँग प्रदेश प्रहरी प्रमुखले अन्तरक्रिया गर्नु भएको थियो ।

अनुगमनको क्रममा प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई भौगोलिक विकटताका कारण दैनिक भोगिरहेको समस्यालाई भन्दा पर्यटकीय क्षेत्रमा अवस्थित चौकीमा रहेर नागरिकको सेवामा अहोरात्र खटिएका प्रहरी कर्मचारी प्रशंसाको पात्र भएको उल्लेख गर्नुभएको छ । उहाँले रमणीय पर्यटकीय क्षेत्रमा सेवा गर्ने अवसर सबै प्रहरी कर्मचारीले नपाउने तथ्यलाई मनन् गरी आफूलाई तोकिएको जिम्मेवारी त्रुटीरहित तवरले सम्पादन गर्न निर्देशन दिनुभएको छ । अनुगमनमा बागमति प्रदेश प्रहरी प्रमुखका साथै प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरि तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।