रमेश देवकोटा, पर्यटकलाई आकर्षित गर्न मकवानपुरगढीमा निर्माणमा गरिएको सेतो हात्ति ।

हेटौंडाः ऐतिहासिक मकवानपुरगढी पछिल्लो समय चर्चामा छ । नेपालको एकीकरणको सन्दर्भमा महत्वपूर्ण मानिएको मकवानपुरगढी अहिले पर्यटकीय आकर्षणको रुपमा स्थापित भएको छ । ऐतिहासिक र सुन्दर स्थल मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित मकवानपुरगढीको पर्यटकीय आकर्षणको केन्द्रको रुपमा स्थापित गर्न लागेको बताउनुहुन्छ, वडाध्यक्ष बखानसिं पाख्रिन ।स्थानीय तहमा निर्वाचित भएर आएको साढे ३ वर्षको अवधिमा वडामा सडक निर्माण नै प्राथमिक कामको रुपमा रहेको वडा अध्यक्ष पाख्रिनको भनाइ छ ।

नयाँ सडकको ट्र्याक निर्माण गर्ने काम ९० प्रतिशत सकिएको छ भने ४ वटा बाटोमा ग्राभेल गरिएको छ । वडाको ४ सय मिटर सडक स्ल्याव गरिएको छ । ढुङ्गे गढी क्षेत्रमा खानेपानीका टयाङ्की ४ वटा सम्पन्न भएको छ, ढुङ्गेगढीमा २ वटा मन्दिर कालिका मन्दिर र महादेवको मन्दिर सम्पन्न भएको छ । गढी दरबार गोलघरमा पार्कको निर्माण गरेको अध्यक्ष पाख्रिनले जानकारी दिनुभएको छ ।

गढी दरबार गोलघर पार्कका लागि प्रदेश सरकारले पहिलो पटक ४० लाख विनियोजन गरेको छ भने दोस्रो पटक २० लाख र तेस्रो पटक पनि २० लाख बजेट बिनियोजन गरिएको छ । पर्खाल निर्माणका लागि प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ । नयाँ ट्रयाक लगायत सम्पूर्ण कार्यका लागि गाउँपालिका र वडा कार्यालयले ७० लाख विनियोजन गरेको छ भने एक करोड गाउँपलिकाले वजेट विनियोजन गरेको छ । खानेपानी ट्याङ्कीका लागि प्रदेश सरकारले एक करोड वजेट विनियोजन गरेको छ । सडकमा ग्राभेलका लागि गाउँपालिका र वडा कार्यालयले जम्मा २० लाख बजेट बिनियोजन गरेको अध्यक्ष पाख्रिनले बताउनुभएको छ ।

पहिलेको भन्दा धेरै फरक वडा नम्बर २ मा विकासका काम उच्च दरमा भएको छ । आगामी दिनहरुमा पर्यटकीय क्षेत्र बनाउने, गढी दरबारलाई व्यवस्थापन गर्ने, विजयपार्क लगायत अन्य कार्य गर्न र स्तरोन्नतिको रुपमा ग्राभेल गर्ने, ढलको व्यवस्थापन गर्ने हेमपाईपको व्यवस्था गर्ने जस्ता काम प्राथमिकतामा रहेको वडाध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिनुभएको छ । अहिलेका लागि स–साना योेजना कार्यान्वयनमा रहेको र मकवानपुरगढीमा रहेका २ वटा मन्दिर कृष्ण मन्दिर र महादेवको मन्दिर वरीपरी बत्ति जडान गरिएको छ । त्यसका लागि वडा कार्यालयले एक लाख रुपैयाँ वजेट बिनियोजन गरेको वडा सदस्य सावित्री बिकले बताउनुभयो ।

मानिसहरु हिँड्न नसकिने बाटोलाई स्थानीय सरकारले स्तरीकरण गरेको वडा सदस्य बिकको दावी छ । मन्दिरसम्मका लागि स्ल्याव बनाउन केन्द्रीय सरकारसँग ५५ लाख बजेट विनियोजन गरी स्ल्याप निर्माण गरिएको छ । गढी, ढुङ्गेगढी र मोहोरेमा भने ३ वटा ट्याङ्की निर्माण गरिएको छ । आगामी दिनहरुमा भने अधुरो बाटोलाई पूरा गर्न, पार्कका लागि पहल गर्ने, नालाहरु बनाउने जस्ता काम गरिने वडा सदस्य बिकले बताउनुभएको छ ।