हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाका कृषकलाई खाद्यान्नमा अनुदान वितरण गर्ने भएको छ । सङ्घीय, प्रदेश वा स्थानीय सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यान्न विक्री गर्ने कृषकलाई गाउँपालिकाले प्रतिकेजी २ रुपैयाँका दरले अनुदान वितरण गर्ने जनाएको छ । मङ्गलबार एक सूचना जारी गर्दै गाउँपालिकाले सहकारी संस्थामार्फत खाद्यान्न खरिद विक्री गर्ने गरी अनुदानको कार्यक्रम घोषणा गरेको हो ।
गाउँपालिकाभित्रकै सहकारी संस्थालाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि सूचीकृत हुन समेत सूचित गरेको छ । गाउँपालिकाभित्रका सबै प्रकृतिका सहकारीले सूचीकृत भएर गाउँपालिकाका किसानले गाउँपालिकाभित्रै उत्पादन गरेका खाद्यान्न खरिद गर्न पाउनेछन् । यसरी पालिकामा सूचीकृत भई किसानको खरिद गर्ने सहकारीले पनि प्रतिकेजी २ रुपैयाँ अनुदान प्राप्त गर्नेछ । कृषकले उत्पादन गरेको खाद्यान्नको उचित मूल्य प्राप्त गर्न प्रोत्साहित गर्ने गरी पालिकाले पहिलो पटक खाद्यान्नबालीमा अनुदान कार्यक्रम घोषणा गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले कृषकलाई प्रतिकेजी २ रुपैयाँ र सहकारीलाई प्रतिकेजी २ रुपैयाँ गरी प्रतिकेजी ४ रुपैयाँ अनुदान दिनेछ । अहिले गाउँपालिकाका किसानले वर्षकै प्रमुख बालीको रुपमा धानबाली भित्र्याउँदै छन् । गाउँपालिकाले खाद्यान्नाली धान, मकै, गहुँ, कोदो, फापरमा अनुदान दिने जनाएको छ । अहिले धानबालीको हकमा सङ्घीय सरकारले तोकेको समर्थन मूल्यनै कायम गरिने र अन्य बालीको हकमा सङ्घीय सरकार या प्रदेश सरकारले नतोके गाउँपालिका आफैंले नै समर्थन मूल्य तोक्ने मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै मकवानपुरगढी गाउँपालिकाले खाद्यान्नमा अनुदान कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो । मकवानपुरगढी गाउँपालिकाले यसअघि कृषिमा आधुनिकीकरणका लागि कृषकलाई प्रविधि हस्तान्तरण, तालिम सञ्चालन गर्नुका साथै व्यावसायिक कृषिमा अनुदानका कार्यक्रम समेत कार्यान्वयन गर्दै आएको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्ने मकवानपुरगढी गाउँपालिका मकवानपुर जिल्लाकै अग्रणी पालिका समेत हो । गाउँपालिकाले व्यावसायिक तरकारी बाली तथा व्यावसायिक फलफूलखेतीलाई पनि प्रवद्र्धन गरेको छ ।