सङ्केतिक तस्विर google..

हेटौंडाः ६ जना बालश्रमिकलाई प्रहरीले उद्दार गरेको छ । मकवानपुरको मनहरी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवन जिल्लाको राप्ती नगरपालिका–१, पिप्लेस्थित विभिन्न होटलमा श्रममा लगाइएका ६ जना बालबालिकालाई मंगलबार दिउँसो उद्दार गरेको हो ।

उद्दार गरिएका बालबालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङका हुन् । बालबालिका श्रममा प्रयोग गर्न लैजाने राक्सिराङ गाउँपालिका–९, खैराङका मञ्जील प्रजालाई पनि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभएको छ । राप्ती नगरपालिका–१, पिप्लेस्थित लोकप्रिय होटल, सोनु होटल र कायल होटलबाट श्रम गर्दै गरेको अवस्थामा ४ बालिका र २ बालकलाई उद्दार गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

१३, १४ र १५ वर्षका बालबालिकालाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको श्रेष्ठले जानकारी दिनुभएको छ । बालबालिकालाई श्रममा लगाउन लैजाने मञ्जील प्रजासँगको सोधपुछका क्रममा बालबालिकालाई श्रममा लैजान सहयोग गर्ने थप एकजना पनि रहेको र उसको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभएको छ । राक्सिराङ गाउँपालिका मकवानपुर जिल्लाकै विकट र विपन्न नागरिक भएको क्षेत्र हो ।