हेटौंडाः गत शुक्रबार हेटौंडा–८, कमानेकी चन्द्रकला तिमल्सिनाले कमानेबाट हेटौंडा–२, संगमचोक आउने क्रममा अटोबाट ओर्लने क्रममा छुटेको गहना र मोवाइलसहितको व्याग अटो चालकले फिर्ता गरेकी छिन् ।

हेटौंडा–४, कर्राकी अटो चालक हरिमाया देउलाले अटोमा छुटेको चन्द्रकला तिमल्सिनाको व्याग र व्यागमा रहेको पोतेसहितको तिलहरी एक थान, कानमा लगाउने झुम्का एक जोर, सिम नभएको सामसुङ मोबाइल एक थान, पावरवाला चस्मा एक थान र चावीको झुप्पा एक थान प्रहरीलाई फिर्ता गरेको वडा प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले आइतबार चन्द्रकला तिमल्सिनालाई सामानसहितको पर्स फिर्ता गरेको छ । चन्द्रकलाले व्याग हराएको भनी सूचना दिएका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा हरिमायाले व्याग फिर्ता गरेको बताइएको छ ।