सहकारीको साधारणसभा उद्घाटन गरिँदै ।

हेटौंडाः हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतबारबाट सुरु भएको छ । कोरोना महामारीका कारण एकैदिन सेयर सदस्यको भेला गरी साधारणसभा आयोजना गर्न सम्भव नभएका कारण सहकारी विभागले जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी निर्देशिकाको अधिनमा रही आइतबारदेखि एक साताका लागि साधारणसभाको आयोजना गरिएको सहकारीका अध्यक्ष चक्रधर विडारीले जानकारी दिनुभएको छ ।

आइतबार सहकारीका अध्यक्ष चक्रधर विडारीको अध्यक्षता तथा सहकारीका ज्येष्ठ सदस्य डिलाराम तिवारीको प्रमुख आतिथ्यमा सहकारीको कार्यालयमै उद्घाटन कार्यक्रम भएको हो । पाँच सय ५३ जना सेयर सदस्य रहेको सहकारीले हरेक दिन तीन चरणमा २५/२५ जना सदस्यलाई कार्यालयमै आएर उपस्थिति जनाउन र आवश्यक सल्लाह, सुझाव प्रदान गर्ने व्यवस्था गरेको सहकारीकी व्यवस्थापक अनिता स्याङ्बोले जानकारी दिनुभएको छ ।

४७ लाख ९० हजार रुपैयाँ सेयर पुँजी भएको सहकारीले तीन करोड ७७ लाख ३४ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने तीन करोड ७६ लाख ९५ हजार रुपैयाँ ऋण प्रवाह गरेको व्यवस्थापक स्याङ्बोले जानकारी दिनुभएको छ । सहकारीले गत वर्षको तुलना एक सय सेयर सदस्य थप गरेको अध्यक्ष विडारीले जानकारी दिनुभएको छ ।