हेटौंडाः बागमती प्रदेश सरकारले कोरोना सङ्क्रमितको पुनः पिसिआर परीक्षण नगर्ने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ फोकल पर्सन डा. पुरुषोत्तम सेढाईले कडाईका साथ आइतबार बिहान हेटौंडास्थित आइसोलेसन वार्डमा फोन गरेर सङ्क्रमितको पुनः परीक्षणका लागि स्वाब सङ्कलन नगर्न निर्देशन दिनुभएको छ । हेटौंडास्थित आइसोलेसन वार्डका फोकल पर्सन भोलाप्रसाद चौलागाईका अनुसार डा. सेढाईले प्रयोगशालामा चाप बढेको भन्दै कडाईका साथ सङ्क्रमित व्यक्तिको पुनः परीक्षणका लागि स्वाब सङ्कलन नगर्न निर्देशन दिनुभएको हो ।
कोरोना सङ्क्रमितको दुईसाता देखि तीन साताको बीचमा स्वाब सङ्कलन गरी परीक्षण गरिँदै आएको थियो । सङ्घीय सरकारले नै सङ्क्रमितको पुनः परीक्षण नगर्ने स्पष्ट पारेको भन्दै डा. सेढाईले स्वाब सङ्कलन नगर्न भनेको चौलागाईले बताउनुभयो । डा. पुरुषोत्तम सेढाईसँग मोवाइल (९८४१३२३९२४) मा सम्पर्क गर्दा उहाँको मोवाईल उठेन । यसअघि पनि डा. सेढाईसँग मोवाइलमा कुरा हुनै सक्ने अवस्था थिएन । यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई पनि मोवाइल (९८५१२२२१११) मा सम्पर्क गर्दा उहाँले पनि मोवाइल उठाउनुभएन । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरक्षेत्रमा मात्रै चार सय भन्दा बढीको सङ्ख्यामा सक्रिय सङ्क्रमित छन् ।