हेटौंडाः हेटौंडा–५, क्याम्पाडाँडामा बुधबार क्याम्पादेवी मन्दिरको उद्घाटन गरिएको छ । नेपाल संगीतकार सङ्घका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्य तथा पिप्ले युवा क्लबका पदाँधिकारीको उपस्थिति रहेको थियो ।

क्याम्पादेवीको सानो मूर्ति पुजा गरिँदै आएकोमा स्थानीय पिप्ले युवा क्लबका पदाधिकारीको सक्रियतामा मन्दिर नै स्थापना गरिएको हो । पिप्ले युवा क्लबका सदस्य रणबहादुर खनालले आमाको सम्झनामा मन्दिरको स्थापना गर्नुभएको हो । मन्दिर निर्माणका लागि ३० हजार रुपैयाँ खर्च भएको खनालले बताउनुभयो । पिप्ले युवा क्लबले क्याम्पा चौरको संरक्षण गर्नुका साथै क्याम्पा चौरको स्तरोन्नति तथा क्याम्पा चौरक्षेत्रको सौन्दर्य प्रवद्र्धनको कार्य गरिरहेको छ । क्याम्पाचौरको संरक्षणका लागि कर्रा खोलातर्फ बाँध बाँध्ने, चौरमा घेराबार गर्ने, वृक्षरोपण गर्ने, मञ्च निर्माण गर्ने कार्य गरिरहेको पिप्ले युवा क्लबका सचिव दिपेन्द्र ढकालले जानकारी दिनुभएको छ ।