प्रहरी दिवसमा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिक समाजबाट उठ्ने गरेका प्रश्नलाई आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मुलुकलाई सङ्कट परेको बेलामा भूकम्प, महामारी, बाढि पहिरो लगायत प्राकृतिक प्रकोप तथा दुर्घटनामा उद्दार तथा अन्य मानवीय सहायताका कार्यहरु, गम्भीर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता, पछिल्लो समय कोरोना महामारी विरुद्ध फ्रन्टलाईनमा प्रहरीले सिमित श्रोत र साधनबीच जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

मुख्यमन्त्री पौडेलले कतिपय घटनाहरुको सन्दर्भमा प्रहरीको भूमिका र व्यावसायिकताप्रति प्रश्न उठ्ने गरेको र नागरिक समाजबाट उठ्ने गरेका प्रश्नहरुलाई प्रहरी सङ्गठनले आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरका रुपमा लिनुपर्ने सुझाव पनि मुख्यमन्त्री पौडेलले दिनुभएको छ । प्रहरी जनताका रक्षक हुन् भन्ने अनुभुति हुने गरी काम गर्न जरुरी रहेको औँल्याउनुहुँदै प्रहरीप्रतिको विश्वास र जनअपेक्षाकै कसीमा यसप्रतिको आलोचना वा टिकाटिप्पणीलाई ग्रहण गर्न सक्दा आगामी दिनमा थप सचेततासहित प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न सकिने भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।

अमर प्रहरी परिवारलाई सम्मान गर्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल ।

देशमा राजनीतिक स्थिरता प्राप्त भएर संविधान निर्माणसँगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश “समृद्ध नेपाल, सुखी नेपाली” को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पौडेलले राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त रहेको बताउनुभएको छ । उहाँले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । विषम् परिस्थितिहरुमा समेत प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतिपूर्ण जिम्मेवारीहरुले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उहाँको भनाइ थियो ।

अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेश मातहत प्रहरी आएपछि प्रदेश सरकारको सुरक्षा योजनाअनुसार नीति बनाएर काम गर्ने बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरीले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ । अमर प्रहरीहरु धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाका प्रहरी हवल्दार यदुप्रसाद पाठक, रामेछाप जिल्ला रामेछाप नगरपालिकाका प्रहरी हवल्दार अर्जुन कुमार थापा, चितवन जिल्ला खैरहनी नगरपालिकाका प्रहरी हवल्दार चेतबहादुर थापा र नवलपरासी जिल्ला त्रिवेणी गाउँपालिकाका सहायक प्रहरी निरीक्षक तेजबहादुर गुरुङका परिवारलाई दोसल्ला ओढाएर नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

‘विषम् परिस्थितिमा प्रहरी परिचालन सम्बन्धी मार्ग निर्देशन २०७७’ को लोकार्पण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल, साथमा प्रदेश प्रहरी प्रमुख बसन्त कुमार लामा ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने हेटौंडा उपमहानगरपालिकाको कार्यालय, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाई, पूर्व प्रहरी नायव निरीक्षक विश्व आले मगर र बागमती प्रदेश प्रहरीलाई निशूल्क जग्गा प्रदान गर्नुहुने बम बहादुर स्याङ्तानलाई कदरपत्र प्रदान गरिएको छ । यस्तै प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले सिन्धुली जिल्लाको ईलाका प्रहरी कार्यालय खुर्कोटमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाईबालाई उत्कृष्ट प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीषक रामेश्वर पाण्डेलाई उत्कृष्ट ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान गङ्गा केसीलाई उत्कृष्ट विपद् उद्दारक प्रहरीको रुपमा पुरस्कृत गरेको छ ।

प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना मन्तव्य बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरिले वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले नेपाल प्रहरीले जनतालाई सदैव सर्वोपरी ठान्दै आएको बताउनुभएको छ । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर बिके, आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी श्रीमति सङ्घकी अध्यक्ष सुमी लामा लगायतले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा विषम् परिस्थितिमा प्रहरी परिचालन सम्बन्धी मार्ग निर्देशन २०७७ को लोकार्पण समेत गरिएको छ ।