तस्बिरः सुसन लामिछाने/समृद्ध समाज

हेटौंडाः मालपोत कार्यालय मकवानपुरको सबै सेवाहरु आजबाट सञ्चालनमा आएको छ । मालपोत कार्यालयकै एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि ४ दिनको लागि सबै सेवाहरु बन्द गरिएको थियो । मालपोत कार्यालय आज बिहिबारबाट सञ्चालनमा आएपनि कुनै पनि स्वास्थ्य सतर्कता भने अपनाइएको छैन ।

मालपोत कार्यालय परिसर भित्र मानिसहरुको अत्याधिक भिड लागेको छ । भौतिक दूरी कायम नगरी नागरिकहरु सेवा लिन लाइनमा बसेका छन् । मालपोत कार्यालय मकवानपुरका प्रमुख बासुदेव खतिवडाका अनुसार अहिलेको भिडभाड रोक्न नसकिने बताउनुभयो । नागरिक सेवा लिन आउँदा व्यक्ति स्वयम् सचेत नभएसम्म मालपोत कार्यालयको भिड नरोकिने उहाँले बताउनुभयो ।

कार्यालयले सेवाग्राहिलाई सेवा प्रदान गर्ने भन्दै उहाँले सेवाग्राहिहरुलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ । मालपोत कार्यालय मकवानपुरले आफ्नो कार्यालयमा व्यवस्थापन गर्न नसक्दा भिडभाड बढ्दै गएको हो ।